अन्तर्राष्ट्रिय

हिजबुल्लाह सकेर छाड्ने नेतान्याहुको धम्की, ३४ देशका शान्ति सेना लेबनानमा, हिजबुल्लाह आक्रामक


काठमाडौँ— हमासपछि हिजबुल्लाहविरुद्ध आक्रमणलाई तीव्रता दिएको इजरायलले लेबनानलाई आफ्नो तारो बनाएसँगै अन्तर्राष्ट्रिय समुदायको दबाब बढ्दै गएको छ । लेबनानको संयुक्त राष्ट्रसंघीय मिसन (युनिफिल) मा इजरायलले आक्रमण गरेपछि यो विवाद अन्तर्राष्ट्रियकरण हुने देखिएको छ । यसबीचमा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका प्रमुख जँपीएर लाक्र्वाले लेबनानमा युनिफिल सैन्यलाई हालकै स्थानमा कायम राख्ने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले शान्ति सेनालाई हटाउन ठाडो चेतावनी दिएपछि लाक्र्वाले हालकै स्थानमा कायम राख्ने जवाफ फर्काएका हुन् ।

अहिले इजरायलले लेबनानस्थित हिजबुल्लाह समूहसँग युद्ध लडिरहेको छ । हमास समूहलाई धूलोपिठो पारेर लेबनान् प्रवेश गरेका इजरायली सैनिकले लेबनानमा हिजबुल्लाह समूहको खोजी गरिरहेको छ । हिजबुल्लाह समूहलाई सिध्याउने लक्ष्यका साथ लेबनान् पसेको इजरायललाई अहिले गलपासो भएको छ । लेबनान्मा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका सैनिकहरू छन् । हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै गरेको आक्रमणमा परी ६ जना शान्ति सैनिक घाइते भएका छन् । सन् १९७८ मा इजरायलको आक्रमणपछि लेबनानमा स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरू छन् । धेरै युरोपेली सदस्य यस मिसनमा सहभागी छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबनानमा तैनाथ शान्ति सैनिकहरूलाई ‘खतराको बाटोबाट’ हटाउन ठाडो चेतावनी दिएका थिए । तर संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यका प्रमुख जँपीएर लाक्र्वाले लेबनानमा युनिफिल सैन्यलाई अहिलेकै स्थानमा कायम राख्ने अडान लिएका छन् ।

यसले पनि इजरायललाई थप चुनौती थपिएको छ । सुरक्षा परिषद र उक्त शान्ति मिसनमा आफ्ना सैनिकहरू पठाउने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेकोसमेत उनले बताएका छन् । शान्ति सेनामाथि आक्रमण हुनथालेपछि नेपालसहित ३४ देशले आक्रमणको निन्दा गरेका छन् । युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणहरूको नेपाल सरकारले पनि कडा शब्दमा निन्दा गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले शान्ति सैनिकमाथि भएको घटनाको छानबिनको मागसहित सुरक्षाको प्रत्याभूति दिलाउन आग्रहसमेत गरेको छ । यस्ता कार्य तुरुन्त रोकिनु पर्ने र उचित छानबिन हुनुपर्ने नेपालसहित ३४ देशले भनेका छन् । नेपाली सेनाले भने हालसम्म संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिएका हुन् । लेबनानको विकसित परिस्थितिका आधारमा संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने जंगी अड्डाले जनाएको छ ।

अन्तर्राष्ट्रिय दबाबका बाबजुद इजरायली सेनाले भने मंगलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेकोे छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समूहबीच द्वन्द्व झनै चर्किन थालेको हो । ‘हामी बेरुतसहित लेबनानका सबै भागमा हिजबुल्लाहमाथि आक्रमण जारी राख्नेछौँ,’ नेतान्याहुले भनेका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ । त्यस्तै १० हजार ६९८ जना घाइते भएका छन् । हमासविरुद्धको अभियानमा गाजापट्टीमा विध्वंस मच्चाएको इजरायलले लेबनानमा रहेका हिजबुल्लाहमाथि पनि कठोर नीति लिएको देखिन्छ । अहिलेकै अवस्थामा इजरायल ब्याक हुने कुनै संकेत देखिँदैन । जबसम्म उसले अमेरिकालगायत पश्चिमा देशहरुको साथ सहयोग पाइरहन्छ तबसम्म युद्ध जारी राख्ने निश्चित छ । इजरायल आफैँ पनि सैन्य क्षमतामा बलियो भएकाले उसले सजिलै हार मान्ने र पछाडि हट्ने सम्भावना न्यून छ । यद्यपि, लेबनानमा उसको आक्रमण तीव्र बन्दै गर्दा शान्ति स्थापनार्थ खटिएका शान्ति सैनिकमाथि नै आक्रमण हुनुले भने इजरायलमाथि संयुक्त राष्ट्र संघका साथै अन्तर्राष्ट्रिय समुदायको दबाब थप बढ्ने नै छ । यसले इजरायललाई हतियार आपूर्तिदेखि युद्धमा सहयोगी भूमिका खेलिरहेको अमेरिकामाथि पनि हतियार नदिन दबाब बढ्दै गएको छ । यदि अमेरिकाले साथ छोडेको अवस्थामा भने इजरायल एक्लै युद्धमा अग्रसर हुन्छ वा युद्ध विरामका निम्ति तयार हुन्छ ? त्यो भने हेर्न बाँकी छ ।