समाचार

डर लाग्दो अपराध, टाउको सेफ्टी ट्यांकीमा, बोरामा किशोरीको शव, प्रहरी चौकीबाटै युवती बेपत्ता


काठमाडौँ— अधिकांश नेपालीले दशैंमा उल्लासमय जीवन बिताइरहँदा आपराधिक घटनामा पनि वृद्धि भएका छन् । दशैंको बीचमा घटेका विभित्र घटनाहरू हेर्दा आपराधिक मानसिकता बोकेकाहरूले चाडबाड नै कुरेर बसेका हुन्छन् कि जस्तो प्रतीत भएको छ ।

देशभर अहिले महान् पर्व बडादशैंको माहोल छ । सबै नेपाली दशैंको रमझममा मस्त छन् । नातागोता, इष्टमित्र, र परिवारसँग जमघट गर्ने तथा मीठो परिकार खाएर दशैं मनाइरहेका छन् । तर, सबै जना उत्सवकै वातावरणमा झुमिरहँदा यसैबीचमा आपराधिक घटनामा पनि वृद्धि भएको देखिएको छ । चाडबाडका समयमा हुन सक्ने आपराधिक घटनाप्रति नेपाल प्रहरी सतर्क रहेको भनिए पनि व्यवहारतः त्यसमा कमजोरी देखियो ।

घटना नम्बर एक
आश्विन शुक्ल दशमी अर्थात् असोज २६ गते शनिबार विजया दशमीको दिन लगाएको टीका नै ४० वर्षीय चन्द्रबहादुर कामीको अन्तिम टीका बन्यो । बाँकेको कोहलपुर नगरपालिका–८ का चन्द्रबहादुरको शनिबार राति टाउको नभएको शव फेला प¥यो । राति करिब साढे १२ बजे शव देखेर स्थानीयले प्रहरीलाई खबर गरे पनि घटना १२ बजेअघि नै भइसकेको हुनसक्ने प्रहरीको भनाइ छ । हसियाँले घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुरको शव घरदेखि करिब पाँच सय मिटर टाढा प्राप्त भएको हो । शनिबार नै चन्द्रबहादुरको टाउको बिनाको शव फेला पारे पनि त्यसको दुई दिनपछि मात्र सोमबार बिहान टाउको फेला प¥यो । प्रहरीले खोज तलाशको क्रममा घटनास्थलबाट करिब पाँच सय मिटर पूर्वउत्तरमा रहेको सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीबाट चन्द्रबहादुरको टाउको फेला पारेको हो । घटना पश्चात् शङ्काको घेरामा रहेका अनिल परियार फरार छन् । उनी नाताले अनिताको दाइ पर्छन् अर्थात अनिता अनिलको मामाकी छोरी हुन् ।

घटना नम्बर दुई
शनिबार बडादशैंकै दिन डडेल्धुराको पोखरा बजारमा १४ वर्षीया आरती भट्टराईको शव भेटियो । स्थानीय स्टेसनरी व्यापारी ५८ वर्षीय टेकबहादुर भण्डारीले पसलभित्रै आवेगमा आएर अमरगढी नगरपालिका–७ की बालिकाको घाँटी थिची हत्या गरेका थिए । प्रहरीले किशोरीको हत्या के–कति कारणले गरेको भत्रे कुरा नखुलाए पनि घटनास्थलबाट सबुत प्रमाण फेला पारेको जनाउँदै त्यसबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । भण्डारीले पुरानो चिनजान भएकी आरतीलाई पसलमा कुराकानीकै क्रममा शुक्रबार हत्या गरेर शव व्यवस्थापन गर्ने उद्देश्यले प्लाष्टिकको बोरामा हालेका थिए । शव व्यवस्थापन गर्न नसकेपछि पसलबाट भागेका उनी मदिरा सेवन गरेर फेरि शुक्रबार राति घटनास्थलमा पुगेका थिए । असोज २५ गते शुक्रबार नवमीका दिन बेलुका ४ बजे घरबाट धान कुटाउन बजार नजिकै मिल गएकी भट्टराई हजुरबुबा समान उमेर भएका टेकबहादुर जस्ता दानवको अपराधको सिकार बनिन् । कन्या पूजा गरेर नारी शक्तिको उपासना गर्नु पर्ने दिनमै भण्डारीले आसुरी प्रवृत्ति देखाउँदा भट्टराई कहिल्यै नफर्कने गरि बिदा भइन् ।

घटना नम्बर तीन
चितवन, माडी नगरपालिका–७ मा नाताले ज्वाइँ पर्नेले नै सासुको हत्या गरे । देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटको एउटै टोलमा घर भएका नन्दका श्रीमान् अर्थात् ज्वाइँ नाताका ६२ वर्षका टीकाराम रानाभाटले असोज १९ गते हसियाँले घाँटी रेटी हत्या गरेका हुन् । हत्या गरेर भीरबाट खसालिदिएको शव तीन दिनपछि मात्रै भेटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा १९ गते बिहानको खाना खाएर घर पछाडिको जङ्गलमा निस्किएकी विष्णुमायाले आफूलाई गाली गरेर मुख छोडेको र आफूले रक्सी सेवन गरेका कारण हँसियाले घाँटीमा प्रहार गर्दा मृत्यु भएको बयान दिएका छन् ।

त्यस्तै कैलालीको चुरे गाउँपालिका–६ मा पनि श्रीमान्ले बञ्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बिहीबार राति १ बजे मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन् । यस बाहेक रक्षक बनेर नागरिकको सुरक्षामा खटिएका प्रहरीबाटै नागरिक पीडित बन्नु प¥यो । रक्षक नै भक्षक बन्दा बैतडीमा प्रहरी हवल्दारले पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया किशोरीलाई बेपत्ता पारेका छन् । महाकाली प्रहरी चौकी डिम्बरका इञ्चार्ज रहेका हवल्दार कृष्णराज जोशीले युवतीलाई बेपत्ता पारेको स्थानीयको आरोप छ । शुक्रबार बिहान ४ बजे पानी ल्याउने भन्दै घरबाट निस्किएकी किशोरी र हवल्दार जोशीबीच विगतदेखि नै फोन सम्पर्क हुँदै आएको थियो । प्रहरीका अनुसार युवतीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला परेको छ । चाडबाडमा हुने सम्भावित आपराधिक घटना रोक्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको भनिए पनि यी घटनाले त्यसलाई कमजोर सावित गरिदिएको छ । प्रहरीले एकीकृत सुरक्षा योजना लागु गर्दै त्यही अनुसार शान्ति सुरक्षा कायम गरिएकाले ढुक्कसँग पर्व मनाउन सर्वसाधारणमा सन्देश नै जारी गर्दै आएको छ । तर, सुरक्षा व्यवस्थालाई जति नै चुस्त बनाए पनि आपराधिक मानिसकतामा कमी आउन सकेको छैन । चाडबाडमा रमाउँदै गर्दा समाजमा घट्ने यस्ता आपराधिक घटनाले प्रहरीका लागि सुरक्षा चुनौती थपेको छ ।