देश

‘निम्स दाइ’को अर्को कीर्तिमान, १४ हिमाल चढेर नेपालीका रेकर्ड नै रेकर्ड, विमानस्थलमा भव्य स्वागत


काठमाडौँ— तिब्बतको शिशापाङमा हिमाल आरोहण गर्न गएका आरोहीहरु स्वदेश फर्किएका छन् । यो शरद ऋतुमा शिशापाङमाको सफल आरोहणसँगै आधा दर्जन बढी आरोहीले विभिन्न विधामा विश्व कीर्तिमान गरेका छन् । १८ वर्षीय किशोरले विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरे । यो कीर्तिमान कायम गर्ने कान्छा आरोही निमा रिन्जी शेर्पा हुन् । सानो उमेरमा उनले बनाएको यो विश्व कीर्तिमान सामान्य पक्कै होइन । यसका लागि ठूलो साहसको खाँचो हुन्छ ।

गत बुधबार बिहान तिब्बतमा अवस्थित ८ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमालको आरोहण गरेका निमा रिन्जी शेर्पा विश्वका सबैभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गर्ने कान्छा पर्वतारोही बन्न सफल भएका हुन् । सन् २०२२ सेप्टेम्बरमा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण गरेर विश्व कीर्तिमान बनाउने यात्रा तय गरेका उनले सन् २०२३ मा संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । क्रमशः पाकिस्तानमा अवस्थित ‘माउन्ट केटू’ हुँदै तिब्बतमा रहेको शिशापाङ्मा हिमालको सफल आरोहण गर्दै आफ्नो विश्व कीर्तिमानको लक्ष्य पूरा गरेका हुन् । पर्वतारोहणको पारिवारिक पृष्ठभूमिमा हुर्किएका उनी विश्व कीर्तिमानी आरोही टासी लाक्पा शेर्पाका छोरा हुन् ।

बुधबार नै शिशापाङमा हिमालको सफल आरोहण गर्दै दावा याङ्जुम विश्वकै अग्लो शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्न सफल भइन् । हिमाल आरोहणमा एक दर्जन बढी कीर्तिमान बनाइसकेकी दावा पहिलो महिला एसियाली माउन्टेन गाइडसमेत हुन् । उनी दावा याङजुम इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड (आईएफएमजीए)बाट सर्टिफाइड पहिलो नेपाली महिला गाइड पनि हुन् ।

त्यस्तै विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले बिना अक्सिजन विश्वका १४ वटा हिमालको सफल आरोहण गर्दै नयाँ कीर्तिमान बनाएका छन् । पुर्जासँगै मिङ्मा जी शेर्पाले पनि उक्त कीर्तिमान कायम गरेका छन् । शिशापाङ्माको सफल आरोहणसँगै तेजन गुरुङ विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो गुरुङ आरोही बनेका छन् । त्यस्तै सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित शिशापाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर काठमाडौं ओर्लिएका पर्वतारोहीहरुलाई भव्य स्वागत गरिएको छ । आरोहीहरुका परिवारको सदस्य, सामाजिक संघ संस्थादेखि पर्वतारोहणसँग सम्बन्धित सबै संघ संस्था, पर्वतारोही एवं वरिष्ठ पर्यटन व्यवसायीहरु विमानस्थल पुगेका थिए ।

शिशापाङमा हिमालको आरोहण र कायम गरिएका विश्व कीर्तिमानले समग्र पर्वतारोहण क्षेत्रमा इतिहास रचेको छ । यस्ता कीर्तिमानहरुले पर्वतारोहण क्षेत्रको प्रचार र पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने आरोहीहरुको भनाइ छ ।

आरोहण आफैँमा साहसिक र जोखिपूर्ण काम हो । यसको जति नै प्रशंशा गरे पनि कम हुन्छ । यसमा आरोहीहरुको मेहनत र साहसको कदर गर्नैपर्छ । तर हिमाल आरोहण जस्तो संवेदनशील र जोखिपूर्ण विषयमा कीर्तिमानको होडबाजी नै चल्न थालेको छ । यस्ता होडबाजीले अस्वस्थ प्रतिस्पर्धा निम्त्याउनेदेखि आरोहीको जीवन नै जोखिममा पार्न सक्ने गम्भीर विषयतर्फ स्वयम् आरोही र सरोकारवाला निकायले पनि हृदयङ्गम गर्न आवश्यक देखिँदै गएको छ । यद्यपि, विश्व कीर्तिमान राख्न सफल सबै नेपाली आरोहीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाईं ।