Breaking

नेपाल प्रहरीद्धारा उपत्यकामा २ वटा बस निःशुल्क सञ्चालन


काठमाडौं । नेपाल प्रहरीले दशैंको टीकाको दिन काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क सञ्चालन गरेको छ ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने हुँदा सर्वसाधारणलाई आवतजावतमा सुविधा होस् भनेर प्रहरीले आज एक दिन रिङरोड भित्र र बाहिर दुईवटा बस निःशुल्क सन्चालन गरेको हो ।

काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नावय महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

यसैगरी, अर्को २ नम्बर रुटवाला बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने छ ।