अन्तर्राष्ट्रिय

विश्व हल्लाउने रतन टाटा, प्रेममा असफल, व्यवसायमा सफल, ६५ प्रतिशत सम्पत्ति समाज सेवामा


काठमाडौँ— भारतका प्रसिद्ध उद्योगपति तथा टाटा समूहका मानार्थ अध्यक्ष रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । भारतीय उद्योग जगतलाई विश्व मञ्चमा स्थापित गराएका ‘बिजनेस टाइकुन’ रतन टाटा अब स्मृतिमा मात्रै सीमित भएका छन् ।
रतन नवल टाटा उर्फ रतन टाटा विश्व प्रशिद्ध भारतीय उद्योगपति हुन् । उद्योग क्षेत्रका शिखर पुरुष, औद्योगिक क्षेत्रमा आफ्नै साम्राज्य बनाएका टाटा गु्रपको होल्डिङ कम्पनी टाटा सन्सका पूर्वप्रमुख टाटा समूहका मानार्थ अध्यक्ष रहेका रतन टाटाको बुधबार राति ८६ बर्षको उमेरमा निधन भएको छ । बुढ्यौली जीवन बिताइरहेका उनी उमेरजन्य रोग र उच्च रक्तचापको समस्याले अस्पताल भर्ना भएका थिए । टाटा समूहले उनको निधनलाई व्यक्तिगत क्षति भनेको छ । उनको निधनले सिंगो भारत शोकमा डुबेको छ । भारतीय सरकारी स्वामित्वको वायु सेवा कम्पनी एयर इण्डियाको स्वामित्व ग्रहण गरेपछि उनी पुनः चर्चाको शिखरमा पुगेका थिए । उनको निधनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वले दुःख व्यक्त गरेका छन् ।
उनको निधनमा झारखन्ड सरकारले एक दिन शोकको घोषणा नै गरेको छ । मुख्यमन्त्री हेमन्त सोरेनले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन्,‘झारखन्डजस्तो पिछडिएको राज्यलाई विश्वमा पहिचान दिलाउने टाटा समूहका पूर्वचेयरम्यान एवं पद्मविभूषण रतन टाटाज्यूको देहावसानमा एक दिवसीय राजकीय शोकको घोषणा गरेका छौँ ।’ टाटा समूहको भारतको झारखन्ड राज्यसँग विशेष लगाव रहेको छ । टाटा समूहले आफ्नो पहिलो स्टिल प्लान्ट झारखन्डको जमशेदपुरमा लगाएको थियो । पछि जमशेदपुर टाटा नगर नामले प्रसिद्ध भएको थियो ।
सन् १९३७ डिसेम्बर २८ मा मुम्बईमा जन्मिएका रतनको १० बर्षकै उमेरमा आमाबाबुको सम्बन्धविच्छेद भएपछि हजुरआमा लेडी नवाजबाई टाटासँग हुर्किएका थिए । उनले कर्नेल विश्वविद्यालयमा आर्किटेक्चर र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातक गरे र त्यसपछि हार्वर्ड बिजनेस स्कूलमा एडभान्स्ड म्यानेजमेन्ट प्रोग्राम पूरा गरे । अध्ययनकै क्रममा गाडी र विमान चलाउन सिके । सन् १९६२ मा हजुरआमा लेडी नवाजबाई बिरामी परेर फिर्ता बोलाइएपछि उनी अमेरिका छाडेर भारत फर्किएका थिए । भारत फर्किएपछि टाटा ग्रुपमा उनको यात्रा सुरु भएको थियो ।
पूर्वी भारतको जमशेदपुरस्थित स्टील कारखानाबाट व्यवस्थापक सहायकका रूपमा टाटा छिरेका उनी स्न १९९१ मा टाटा ग्रुपको उत्तराधिकारी बने । १ सय ४८ वर्षको इतिहास बोकेको टाटा गु्रप उनको नेतृत्वमा नयाँ उचाईमा पुग्यो । बुबा नवल टाटाले सन् १८६८ मा सुरु गरेको पारिवारिक व्यवसाय टाटा गु्रपलाई विश्वव्यापी ब्रान्ड बनाए । सन् १९९० देखि २०१२ सम्म टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको अध्यक्ष भए र सन् २०१२ मा उनी सेवानिवृत्त भएका थिए । नुनदेखि सफ्टवेयरसम्मका १०० भन्दा बढी कम्पनीहरूमध्ये टाटा ग्रुपको स्टील, इन्फोटेक, अटोमोबाइल, होटल, रिटेल लगायतमा टाटा स्टील, टाटा मोटर्स, टाटा कन्सल्टेन्सी सर्विसेज, इन्डियन होटल्स कम्पनी लिमिटेड चर्चित मध्येमा पर्छन् । अहिले टाटाले वार्षिक एक सय अर्ब डलरभन्दा बढी रकम कमाइ गरिरहेको तथ्याङ्क छ । सन् २००० मा टाटाले ‘टेट्ली’ किनेसँगै यो संसारको दोस्रो ठूलो चिया कम्पनी बन्यो ।

भारतीय उद्योगका स्तम्भ तर साधारण र सादगीको पर्याय बनेका टाटाले व्यापार र उद्यम बाहेक समाजसेवामा दिएको समय र योगदान आफँैमा प्रशंसनीय छ । उनले आफ्नो सम्पत्तिको ६५ प्रतिशतभन्दा बढी समाजसेवामा खर्चिँदै आएका थिए ।
व्यवसायीक एवम् सामाजिक रुपमा जुन सफलता र उचाई उनले हात पारे, पारिवारिक जीवन भने त्यति सुखद रहेन । रतन टाटा १० वर्षको हुँदा आमाबुवाको सम्बन्धविच्छेद भयो । १८ वर्षको हुँदा उनका बुबाले स्वीस महिला सिमोन डुनोयरसँग विवाह गरे । अर्कोतर्फ उनकी आमाले सम्बन्धविच्छेदपछि सर जमशेदजी जीजीभोयसँग विवाह गरिन् । उनी हजुरआमासँग हुर्किए । प्रेम अधुरै रहेपछि उनले विवाह नै गरेनन् ।

उनले विवाह नगरेकाले उनको उत्तराधिकारी को हुने भन्ने विषयले पनि चर्चा पाइरहेको छ । विवाह नगरेकाले उनका कुनै सन्तान छैनन् । त्यसकारण टाटा सन्सको ‘च्यारिटबल ट्रस्ट’ का सदस्यमध्ये कसैलाई उत्तराधिकारीको जिम्मेवारी दिइने बताइएको छ । ३ हजार ८०० करोड रुपैयाँको विशाल टाटा समूहको जिम्मा कसले लिने भन्ने प्रश्न उठिरहेको छ । उत्तराधिकारीको सूचीमा सबैभन्दा अगाडि नोएल टाटाको नाम अगाडि देखिएको छ । ६७ वर्षीय नोएल, रतन टाटाका सौतेला भाइ हुन् । उनी यो पदको दाबेदारीको रेसमा सबैभन्दा अगाडि छन् । किनभने रतन टाटापछि उनी आउँछन् र नोएल यतिबेला टाटा समूहको ट्रस्टी पनि छन् । त्यसकारण चेयरम्यान पदका लागि नोएलको नाम सबैभन्दा अगाडि लिन थालिएको छ । यसका साथै नोएलका तीन सन्तानलाई पनि उत्तराधिकारीको रुपमा हेरिएको छ । नोएलका तीन सन्तानको रुपमा लेह, माया र नेविल हुन् । उनीहरु सबै यतिबेला टाटा समूहको फरकफरक जिम्मेवारीमा रहेका छन् । जसले गर्दा उनीहरुलाई पनि उत्तराधिकारीको रुपमा हेरिएको छ ।