देश

दशैंका दिन पोखराका ७ रुटमा निशुल्क बस सेवा सञ्चालन हुने


काठमाडौँ— दशैंका दिन पोखराका विभिन्न ७ रुटमा निशुल्क बस सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने विभिन्न ७ रुटमा निशुल्क चलाउन लागिएको हो ।

दशैंका दिन आवश्यकताभन्दा बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, आवश्यकताभन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन निशुल्क बस चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले जानकारी दिए ।

यातायात व्यवसायीकोसमेत उपस्थितिमा प्रशासनले आज पत्रकार सम्मेलन गर्दै नागरिकको चाप हुने ठाउँमा बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निशुल्क बस बस चलाउने जानकारी दिइएको हो । पोखराका विभिन्न यातायात व्यवसायीको संयुक्त प्रयासमा ७ वटा रुटमा ३२ सिटमाथिका १८ वटा बसले दशैंका दिन निशुल्क यात्रु ओसार्ने सिडिओ पाण्डेले बताए ।