Breaking

विमानस्थलमै रुवाबासी, दसैंकै मुखमा आयो भिसा


नेपालीहरुको महान चाड दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेहरु लर्को लागिरहेको छ । हालै आएको बाढीपहिरोले देशका मुख्य राजमार्गहरुमा क्षति पु¥याएपछि सहज यात्राको अवस्था नबन्दा पनि गाउँ फर्किने चाहनालाई भने रोक्न सकेको छैन । दसैं मनाउन गाउँघर फर्किनेहरुको लहर लागिरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने चाडबाडकै मुखमा विदेसिन बाध्य नेपाली युवाको पीडाले सबैलाई स्तब्ध बनाउँछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको यो परिसरमा बिदा हुने र बिदा गर्नेहरुको भक्कानिएको मन अनि आँखा भरीको आँशु नियाले पुग्छ । परिवार, आफन्त सबैलाई छाडेर सामान्य अवस्थामा समेत विदेसिनु जति पीडादायी हुन्छ, त्यसमा पनि चाडपर्वको मुखैमा परिवारसँग टाढिनुको पीडा सायदै वर्णन गर्न सकिएला ।

देशमा बढ्दो बेरोजगारी र शिक्षाको बाध्यताले विदेसिनु पर्ने नेपालीहरुको यो नियति चाडपर्वले कहाँ छेक्न सक्छ र ? पारिवारिक अवस्था र बाध्यताले विदेश पलायन हुँदै गर्दा नेपालीको महान चाड दसैंले समेत उनीहरुलाई रोक्न सकेन । चाडबाड र परिवारसँगको रमाइलो, खुसियालीलाई भुलेर विदेसिन बाध्य युवाहरुको ताँतीले विमानस्थल पुग्ने जो कोहीको मन भक्कानिन्छ ।

सुनसरी इनरुवाका रुपेश मेहता कतार जाँदै छन् । यसअघि ५÷६ वर्ष मलेशियामा रोजगारी गरेर फर्किएका उनी एक वर्ष गाउँमा बसे । तर घरमा बस्दा रोजगारी र आम्दानीको बाटो नहुँदा फेरि विदेशी भूमिमा पसिना बगाउन कतार जान लागेको सुनाए ।

बुढ्यौली उमेरका आमा, बुवा, श्रीमती र चार सन्तानको जिम्मेवारी देशमै बसेर एक्लो काँधले धान्नै मुस्किल भएपछि उनी फेरि केही वर्षका लागि विदेसिनु पर्ने बाध्यता आइपरेको हो ।

महोत्तरीका उपेन्द्र कपार पनि रुपेशसँगै कतार जाँदैछन् । उनी पनि यसअघि साउदी अरब र कतार बसेर फर्किएका हुन् । चाडपर्व मनाएर जाने विचारमा थिए । तर भिसा चाँडै आएपछि चाडपर्व मनाउने उनको सपनामा तुषारापात भयो ।

रुपेश र उपेन्द्र उदाहरण पात्र मात्र हुन् । अध्ययन, रोजगारी, विभिन्न पेसा व्यवसायका साथै अवसरको खोजी गर्दै विदेसिने युवाको ठूलै भिड लाग्ने गरेको छ । र यो आम नेपालीको नियति नै बनिरहेको छ । दसैंका लागि जन्मथलो फर्किंदा जुन उत्साह देखिन्छ, त्यसैगरी चाडपर्वको मुखैमा विदेसिनु पर्दाको बाध्यता झनै पीडादायी र कारुणिक हुन्छ ।

वैदेशिक रोजगारी तथा अध्ययनका लागि नेपालबाट दैनिक २ हजार ५ सयको हाराहारीमा युवाहरु विदेसिने गरेका छन् । देशमा बढ्दो बेरोजगारीको समस्याले विदेसिने युवाको संख्या हरेक वर्ष बढ्दै गएको छ । जसले देश युवाविहीन हुने गतितर्फ उन्मुख देखिन्छ भने चाडबाड मनाउने तथा परिवारसँगै जीवन व्यथित गर्ने चाहना अब आम नेपालीका लागि सपना बन्दै गएको छ । वैदेशिक रोजगारीमा गएका यिनै नेपालीले पठाएको रेमिट्यान्सबाट मुलुक चलिरहँदा यी अनुहारले भोग्नु परिरहेको पीडालाई राज्यले कहिले देख्छ ? त्यो भने विडम्बना मान्नु पर्छ ।।