Breaking

बाढीपहिरोबाट क्षति भएका सडक र पुलको दसैँ अगाडि मर्मत सम्भार गरिने- मुख्यमन्त्री कार्की


काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल वर्षाका कारण बाढीपहिरोबाट भएको सडक, पुललगायत क्षतिलाई दसैँ अगाडि मर्मत सम्भार गरिने बताएका छन् ।

नेकपा एमाले प्रदेश समितिका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा ध्यानाकर्षण पत्र बुझ्दै उनले सो कुरा बताएका हुन्।

उनले असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट मृतकप्रति श्रद्धाञ्जली, बेपत्ताको उद्धार, खोजी, घाइेतको निःशुल्क उपचार र राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण आएपछि सम्बन्धित मन्त्रालयले दसैँ अगाडि गर्नसक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिइएको बताए ।

उनले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक, पुललगायत निर्माण कार्य दु्रत रुपमा गर्न सम्बन्धित मन्त्रालय एवं निकायलाई निर्देशन दिइएको जानकारी दिए । मुख्यमन्त्री कार्कीले नेपाल सरकार, विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिनभित्र गर्नसक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएको बताए ।

सो अवसरमा प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राईले यस विपद्को घडीमा मृतकका परिवारलाई तत्काल सहयोग, घाइतेको निःशुल्क उपचार, बेपत्ताको खोजी र विस्थापितको पुनःस्थापना, बालीनालीको क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे ।