देश

काठमाडौंमा दशैँकालागि खसी किलोको ७२० र च्याङ्ग्रा १३ सयसम्ममा विक्री गरिँदै


काडमाडौँ— नेपालीहरुको महान पर्व दशैँ लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल तिब्र छ ।

दशैँमा नयाँनयाँ कपडा, दशैँका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरु किनमेल गर्नेहरुको भीड बजारमा देख्न सकिन्छ । विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैँको लागि तयारी तिब्र छ । शहरहरुबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ । त्यसैले पनि बजार चलायमान बन्दै गएको छ । विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलंकी खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैँ यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पु¥याउने बताउँछ । सञ्चाकर्मीसंगको कुराकानीमा कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताउनु भयो । उहाँले यस वर्ष विपद्का कारण सडकहरुको अवस्था केही कठिन भएपनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरु ल्याउने काम भइरहेको बताउनु भयो । उहाँले काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५÷४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको बताउनु भयो । विपी राजमार्गको अवरोधका कारण पूर्वी जिल्लाहरु र रामेछाप लगायतका जिल्लाहरुबाट भने खसी, बोका ल्याउन कठिनाइ हुने बताउनु भयो । मूल्य पनि पोहोरकै आसपासमा खरिदविक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको बताउनु भयो ।

खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताउनु भयो । उहाँले च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको बताउनु भयो । उहाँले खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ विक्री गरिरहेको बताउनु भयो ।