Breaking

हेटौंडा–चित्लाङ–चन्द्रागिरि सडक खण्डमा चल्न थाले गाडी


काठमाडौँ – त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौंडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले वर्षा हुनसक्ने सूचना जारी गरेपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुनः सञ्चालन भएका हुन् ।

हेटौंडा–पालुङ–नौबिसे सडकखण्डमा पनि हलुका सवारी सञ्चालन भएका छन् । बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

हेटौंडा–काठमाडौं जोड्ने सडकअन्तर्गत हेटौंडा–भैंसे–रातोमाटे खण्डको गोल्पिङबेंसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उनले जानकारी दिए ।