Breaking

यसवर्ष च्याङग्राको मूल्य घट्यो


दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएका च्याङग्रा बिभिन्न शहर बजार पुग्न थालेका छन् ।
यसवर्ष च्याङग्राको मूल्य सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् ।

गतवर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताउनुभयो । गतवर्ष बजारमा ल्याएको च्याङग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए । मुस्ताङसँगै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन् । दसैं तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ । यसवर्ष दसैंका लागि मुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ ।