अन्तर्राष्ट्रिय

मध्यपूर्व युद्ध चर्किंदै, हमास पछि हिजबुल्लाह सक्दै इजरायल


इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण सुरु गरेको छ । यसअघि इजरायलले लेबनानको राजधानी बेरुतसहित दर्जनौँ स्थानमा हवाई आक्रमण गरेको थियो । जसमा हिजबुल्लाह समूहका प्रमुखसहित ७ सय बढी मानिस मारिएका छन् ।

गत वर्ष अक्टोबर ७ मा उत्तरी इजरायलमा एकाएक आक्रमण गरेर हमासले विश्वलाई नै स्तब्ध तुल्यायो । आक्रमणमा १२ सय इजरायली मारिए भने २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लग्यो । त्यसको भोलिपल्टदेखि इजरायलले सुरु गरेको आक्रमण आजसम्म जारी छ । इजरायलको कारबाहीमा अहिलेसम्म ४१ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने लाखौँ घाइते भएका छन् ।

हमासविरुद्ध इजरायली आक्रमण जारी रहेकै बेला लेबनानस्थित इरान समर्थित समूह हिजबुल्लाहले पनि बेला–बेलामा इजरायल लक्षित आक्रमण गर्दै आएको थियो । इजरायली सेनाले पनि त्यसको जवाफ दिँदै आएको थियो । तर, हमासलाई कमजोर पारेसँगै इजरायली सेनाले पूर्ण रूपमा हिजबुल्लाह लक्षित आक्रमणलाई तीव्रता दिएको छ । लगातार हवाई आक्रमण गर्दै आएको इजरायलले लेबनानको तीनवटा क्षेत्र खाली गर्न आदेश दिएसँगै स्थलगत आक्रमण सुरु गरेको हो ।

इजरायली सेनाले बेरुतको दक्षिणी भागमा तीनवटा हिजबुल्लाहको पकड क्षेत्र पहिचान गरी स्थलगत आक्रमण सुरु गरेको छ । स्थलगत आक्रमण अघि बख्तरबन्द सैनिक ट्यांकहरु तैनाथ गरेको इजरायली सेनाले कारबाही सुरु गरेसँगै थुपै्र भवनहरु ध्वस्त भएका छन् । यसैबीच हिजबुल्लाहका उपनेता नइम कासिमले इजरायलले सुरु गरेको स्थलगत आक्रमणका लागि प्रतिकार गर्न आफूहरु तयार रहेको जनाउँदै यो लडाइँ अब लम्बिने संकेत गरेका छन् ।

इजरायलले बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिएपछि हिजबुल्लाहका उच्च अधिकारीले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । इजरायली सेनाले सुरु गरेको स्थलगत आक्रमणकाबीच स्थानीय नागरिक भने त्रसित बनेका छन् । इजरायली हवाई हमलाका कारण एक लाख मानिस लेबनान छाडेर सिरिया प्रवेश गरेको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन् ।

संयुक्त राष्ट्रसंघका प्रतिनिधिले चार सीमानाकामा मानिसहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ । आइतबारसम्म प्राप्त जानकारीअनुसार पछिल्लो सात दिनमा करिब ८० हजार मानिस लेबनान छाडेर सिरिया पुगेका छन् । अन्तर्राष्ट्रिय समुदायको प्रयासका बाबजुद युद्ध मत्थर हुनुभन्दा पनि झन् भड्किँदै गएको छ । युद्ध समाप्त हुने कुनै संकेत तत्काल देखिएको छैन । यो युद्धमा हमासको समर्थनमा हिजबुल्लाहले उत्तरी इजरायलमा आक्रमण सुरु गरेको थियो ।

यही कारण इजरायलको आक्रमण हिजबुल्लाहतर्फ सोझिएको हो । यो युद्ध समयमै नरोकिए मध्यपूर्वी देश हिजबुल्लाहको समर्थनमा ओर्लिने र मध्यपूर्वको युद्ध झन् भड्कने जोखिम बढ्दै गएको छ । किन कि, हिजबुल्लाहको समर्थनमा इरान छ । उसकै बलमा हिजबुल्लाहले इजरायलमाथि आक्रमण थालेको हो । तर, इरान भने अहिले इजरायलमाथि आक्रमण गर्ने कि नगर्ने द्वविधामा छ । यदि इरान यो युद्धमा होमिएको अवस्थामा एक समयको शान्तिपूर्ण आकाश कालो धुवाँले भरिने निश्चित छ ।