Breaking

आफू मरेर छोरा बचाउने आमा, झ्याप्ले पहिरोमा अस्ताउनेको कथा


तीन दिनदेखिको वर्षाले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति व्यर्होनु परेको छ । त्यसबाट सबैभन्दा बढी बागमती प्रदेश प्रभावित भएको छ । संघीय राजधानीमै भएका केही घटना अझ मर्मस्पर्शी छन् ।

यो दृश्य दोलखा भिमेश्वरको हो । घरको धुरी र लेदोले च्यापिएर जीवन मरणको दोसाँधमा रहेका एक अवोध बालक चिच्याइरहेका थिए । बालकलाई उनकी आमाले हातले च्यापिरहेकी रहिछन् । सुरक्षाकर्मीहरुको सतर्कतापूर्ण पहलले उनको उद्धार भयो र बाँच्न सफल भए । तर उनलाई सुरक्षित राख्न सफल आमा भने पहिरोमा थिचिएर घटनास्थलमै अस्ताइन् । आमा मात्र होइन ती बालकले बुबा र दाई पनि गुमाए । शनिबार दिउँसो रामकुमार भुजेलसहित श्रीमती राधिका, छोरा सुजन र दुई वर्षीय छोरा युवराज झरी परेकाले घरभित्रै थिए ।

तर, पहिरो आएपछि एकैछिनमा सबै पुरिए । माथिबाट पहिरो निरन्तर झरिरहेकाले उद्धारका लागि प्रहरीलाई पनि सकस परेको थियो । तर दुई वर्षीय युवराजलाई मात्रै प्रहरीले बचाउन सक्यो । उद्धारमा केही समय ढिला भएको थियो भने युवराजको हकमा समेत जे पनि हुन सक्थ्यो । तर, उद्धारकर्मीको प्रयासले उनी बाँचे । परिवार गुमाएका उनको पालनपोषण र कक्षा १२ सम्मको अध्ययनको खर्च भिमेश्वर नगरपालिकाले ब्यहोर्ने भएको छ । साथै उनकी फुपु प्रमिला भुजेलले उनको जिम्मा लिएकी छन् ।

काठमाडौं र धादिङ जिल्लाको सीमामा पर्ने झ्याप्ले खोलामा दुई होनहार दाजु बहिनी अस्ताए । स्याङजाको गल्याङ नगरपालिका–३ स्थायी घर भइ बुटवलको मानव ज्ञान माविका टपर मध्येका थिए– दीपेश र दीपिका भट्टराई । तर दशैंको मुखैमा आएको मनसुन उनीहरुका लागि दुर्दशा बन्यो । र अमेरिका पढ्न जाने सपना झ्याप्ले खोलाको पहिरोसँगै पुरियो । दाजुबहिनी देश बाहिर हुने विभिन्न प्रतियोगितामा पनि भाग लिन्थे । त्यही क्रममा एस्ट्रोनोमी ओलिम्पियाड सोसाइटीले काठमाडौंमा असोज १७ गते नेसनल एस्ट्रोनोमी ओलिम्पिया प्रतियोगिता आयोजना गरेको थियो ।

दाजुबहिनीले अनलाइबाटै फर्म भरेका थिए । उनीहरू पहिलो चरणको २०२४ को प्रतियोगिताका लागि छनोट भएको खबर आयो । काठमाडौंबाट पहिलो चरणमा छनोट भएपछि दोस्रो चरणका लागि बंगलादेशमा ३२ देशका विद्यार्थी सहभागी हुने कार्यक्रममा उनीहरु पनि जान पाउँथे ।

बंगलादेशमा विजेता बने अन्य प्रतिस्पर्धाका लागि अमेरिका जान पाउँथे । यही कार्यक्रममा सहभागी हुने अन्य चार जना साथीहरु पहिले नै काठमाडौं पुगिसकेका थिए । उनीहरु ढिला भयो भन्ने ठानेर झरीको ख्यालै नगरी काठमाडौंका लागि हिंडे । तर, प्रतियोगिता जितेर अमेरिका पुग्ने सपना झ्याप्लेखोलाको पहिरोमै पुरियो । आमा सीता पनि उनीहरुसँगै अस्ताइन् । दीपेश र दीपिकाका बुबा होमनाथ भने रोजगारीको क्रममा दक्षिण कोरियामा छन् ।

बुटवलका ३७ वर्षीय प्रकाश कुँवर र काठमाडौंकी अनु मल्लले विवाह गरेको दुई महिना मात्रै भएको थियो । प्रकाशले दक्षिण कोरियाबाट फर्किएर अनुसँग विवाह गरेका थिए । गुल्मीको मदानेमा रहेको पुख्र्यौली घरमा उनीहरु विवाहपछि घुम्न गए र त्यहाँबाट फर्किएर विवाह दर्ता पनि गराइसकेका थिए ।

२० दिनपछि प्रकाश फेरि कोरिया जानुपर्ने भएकाले काठमाडौंमा रहेका परिवारका अन्य सदस्यसँग भेटघाट गर्ने र यतैबाट कोरिया फर्किने योजनाका साथ २८ वर्षिया बहिनी सिर्जनालाई पनि साथमा लिएर प्रकाश र अनु काठमाडौं आउँदै थिए । तर थानकोटको डाँडा चढ्न नपाउँदै काठमाडौंमा परिवार भेट्ने सपना झ्याप्ले खोलामै अस्तायो ।

संघीय राजधानीमै जस्ताको छानोमा उभिएर याचना गर्दा पनि राजु साह, मेघना साह र राज साहले उद्धार पाएनन् । सरकारलेसमेत उद्धार गर्न नसक्ने भनिसकेपछि उनीहरुले बाँच्ने आश मारिसकेका थिए । नख्खु खोलाको बढ्दो बेगलाई टहराले धान्न नसक्दा उनीहरु खोलासँगै बगेका थिए । घटनास्थलमा प्रहरी पनि थियो । तर, उद्धारकर्मी नै बग्न थालेपछि सरकारले हात उठाएको थियो । तर, काभ्रेका चणिकलाल तामाङले आफ्नो ज्यानको बाजी थापेर उनीहरुको ज्यान जोगाए । राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले खोलाबाट निकालेका थिए ।
पज….
चाडबाडकै मुखमा भएका यी घटनाले नेपालीहरुको यस वर्षको दशैं खल्लो बनाएको छ । तीन दिन पहिल्यै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्दा पनि सरकारले योजना बनाउन सकेन । समस्या परेपछि सर्वदलीय र सर्वपक्षीय नामका बैठकको ताण्डव देखाइयो । काठमाडौं जोड्ने मुख्य नाकामै भएको दुर्घटना ढिला गरी थाहा पाउनुले सरकारको असली चरित्र देखाइदिएको छ ।