Breaking

देशका २५ स्थानमा तोडियो वर्षाको रेकर्ड


काठमाडौं । १४ जिल्लाका २५ वटा केन्द्रमा ‘रेकर्ड ब्रेक’ वर्षा मापन भएको छ । असोज १० (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म परेको अविरल वर्षाले निम्त्याएको विपद्का कारण ठूलो जनधनको क्षति भयो । लगातारको वर्षाले धेरै ठाउँको रेकर्ड नै तोडेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, यस अवधिमा मनसुन न्यून चापीय प्रणालीको कारण देशका धेरै स्थानमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको छ ।

काठमाडौंको पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जितपुरफेदी र नागार्जुन, ललितपुरको गोदावरी, खुमलटार, टीकाथली, खोकना, चापागाउँ र भक्तपुरको नखेल वर्षामापन केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाका अनुसार अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, काभ्रेको खोपासी, पाँचखाल र धुलिखेलमा पनि रेकर्डब्रेक वर्षा भएको छ ।

त्यस्तै मकवानपुरको दामन, नुवाकोटको ककनी, पाल्पाको बल्ड्याङगढी, पाँचथरको फिदिम, सिन्धुपाल्चोकको बाहुनेपाटी र तनहुँको सखर तथा खैरेनीटारको वर्षामापन केन्द्रमा पनि अहिलेसम्मको धेरै वर्षा रेकर्ड भएको छ ।

असोज १२ गते बिहान ८ः४५ बजे मापन गरिएको वर्षाको तथ्यांक अनुसार, १४ जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको विभागले जनाएको छ ।