Breaking

भाडादर बढाएका विमान कम्पनी चौतर्फी दबाबसँगै पछि हटे


काठमाडौं । विपद्को मौका छोपी भाडादर बढाएका विमान कम्पनी चौतर्फी दबाबसँगै पछि हटेका छन् ।

वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संंघका अनुसार सोमबारदेखि बुधबारसम्म लागु हुने गरी सरकारले तोकेको माथिल्लो दरको भाडादरमा टिकट नबेच्ने निर्णय भएको छ । आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ ।

वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही दरको माथिल्लो बिन्दुमा टिकट बेच्ने गर्छन् । आज वायुसेवा कम्पनीले सबै टिकट माथिल्लो दरमा बिक्रीमा राखेपछि आलोचना भएको थियो । काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् ।

यसैबीच अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एअरलाइन्सहरूलाई विपत्तिको समयमा यात्रुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गरेकाछन् ।