Breaking

विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाद्वारा १७ टोली परिचालन


काठमाडौँ – महानगरपालिकाले बाढी र डुबानमा फसेकाहरूलाई उद्धारका लागि नगर प्रहरीका १७ टोली परिचालन गरिएको मेयर बालेन्द्र शाह बालेनले जानकारी दिएका छन्।

निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना संलग्न रहेको उनले बताए।

‘टोलीहरू डुबान भएका बस्ती, नदी किनारा, रूख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन्’, उनले भनेका छन्। मेयर शाहका अनुसार वंशीघाट ९विश्व निकेतन विद्यालय पछाडि०, कुलेश्वर, कपुरधारा, जडीबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमूल, न्युरोड, गणेशस्थानलगायत स्थानका समस्या समाधान भइरहेको छ।

उनले भनेका छन्, ‘स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौँ। यस्ता विपद्‌मा आफू र परिवारलाई बचाउनु तथा आपत्‌मा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व भएको उल्लेख गर्दै मेयर शाहले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न अपिल पनि गरेका छन्।

डुबान, कटान, बाढी, पहिरोको जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन उनले अनुरोध गरेका छन्। साथै आपत्‌कालीन अवस्थामा अस्पताल जानुपरे निःशुल्क एम्बुलेन्स प्रयोग का लागि १०२ मा फोन गर्न मेयर शाहले सूचना जारी गरेका छन्।