Breaking

कुलेखानी बाँधदेखि सर्लाहीसम्मका बस्तीमा बाढीको सम्भावना, सतर्क रहन अपिल


काठमाडौँ— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी बाँधदेखि तल सर्लाही जिल्लासम्मका बस्तीमा एक्कासि बाढीको आउने सम्भावना रहेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

“निरन्तरको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् केन्द्रको बाँधमा पानीको सतह बढ्न गएको र केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोकाहरू खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका रौतहट र सर्लाही जिल्लासमेतका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको छ,” प्राधिकरणले आज सूचना प्रकाशति गर्दै भनेको छ ।

कुलेखानी ड्याम भरिन लाग्यो, एकहजार ५२६.८ मिटर पानी जम्मा
तसर्थ, कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत सतर्क अवस्थामा रहन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत तद्‌नरूप सुरक्षित स्थानको पूर्वतयारी गर्न अनुरोध गरेको छ ।