Breaking

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो। सोही अनुरुप गृह मन्त्रालयमा प्राप्त निर्देशनलाई कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्काल कदम चाल्न निर्देशन दिएका हुन्।

प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।


गत शुक्रबार सार्वजनिक प्रतिवेदनले लामिछाने, गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको हो ।