अन्तर्राष्ट्रिय

श्रीलंकामा चुनाव भिडन्त, ३९ जना मैदानमा


आर्थिक संकटका कारण शाशकहरुलाई नै देश छाड्नेगरी आन्दोलन भएपछि पहिलोपटक श्रीलंकामा शनिवार राष्ट्रपतिको निर्वाचन हँदैछ । सन् २०२२ मा राष्ट्रपति गोटावाया राजापाक्षेले देश छाडेपछि हुन लागेको निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । यो दौडमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि छन् । एक रिपोर्ट…
०००
सरकारी ढुकुटी रित्तिएर कागज किन्नसमेत पैसा नहुँदा विद्यार्थीको परीक्षा नै स्थगित गर्नुपरेको श्रीलंकाको घटना धेरै पुरानो होइन । दुई वर्षअघि आर्थिक रुपमा टाँट पल्टेको श्रीलंकाको अर्थतन्त्र तंग्रिदो अवस्थामा छ । विदेशी दातृ निकायको सहायता र पर्यटनको भरमा लय पक्रिरहेको श्रीलंकामा सेप्टेम्बर २१ अर्थात असोज ५ गते राष्ट्रपती चुन्न निर्वाचन हँदैछ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधि अभावको अन्त्य भएको दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका हुन् । सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालिन निर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेविरूद्ध सडक संघर्ष गरे ।


त्यसपछि तत्कालीन राष्ट्रपति राजापाक्षेले देश नै छोडेर भाग्नु प¥यो । राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये मुख्य दाबेदार मानिएका ७५ वर्षीय रनिल विक्रमसिंघे, ५७ वर्षीय सजिथ प्रेमदास, ३८ वर्षीय नमल राजपाक्ष, ४० वर्षीय नुवान बोपागे, ५५ वर्षीय अनुरा कुमार दीसानायके छन् । तर सर्वेक्षणहरूले त्यहाँका परम्परागत दलका उम्मेदवारलाई पछि पार्दै बामपन्थी उम्मेदवार जित्ने प्रक्षेपण गरेका छन् ।

नेशनल पिपुल्स पावर (एनपीपी) का अध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार अनुरा कुमार दीसानायके सर्वेक्षणहरूको शीर्ष स्थानमा देखिएका छन् । अनुराले तीन बलिया उम्मेदवारलाई कडा चुनौती दिने मानिएको छ । सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा रहँदा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो स्थानमा छन् । पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमल राजापाक्षे पनि यो दौडमा त छन् तर सर्वेक्षणहरूको नजरमा उनको जित्ने सम्भावना निकै कम छ ।


मिडिया रिपोर्टरहरूलाई आधार मान्दा श्रीलंकामा दुई वर्षअघिको आर्थिक संकटको कहालीलाग्दो दृश्य अझै पनि मानिसहरूको मनस्पटलबाट हट्न सकेको छैन । आर्थिक अवस्था केही सुध्रदो अवस्थामा रहे पनि त्यो समयको विद्रोक नर्बिसिएकाले लामो समय श्रीलंकाको नेतृत्वमा रहेको ‘राजापाक्षे परिवार’सँग जनता सकारात्मक छैन । श्रीलंकामा गम्भीर मन्दीपछि भएको ऐतिहासिक आन्दोलनको कारण अनुरा कुमार दीशानायकेको लोकप्रियता ह्वातै बढ्यो ।

गत राष्ट्रपतीय चुनावमा उनी तेस्रो भएका थिए । उनी राष्ट्रिय जनशक्ति (एनपीपी) नामको गठबन्धनको उनी नेतृत्व गर्छन् । एनपीपी गठबन्धनको महिला समूह, नागरिक समुह, राजनीतिक दल तथा ट्रेड युनियनहरू गरी २१ घटक छन् । त्यसकारण पनि उनको सम्भावना बलियो देखिएको छ । तर, लोकपिूयताको मत कति भेटमा परिवर्तन हुन्छ त्यो भने हेर्न बाँकी छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा योहो टेलिभिजनका लागि मिङमा शेर्पा काठमाडौँ ।