Breaking

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न समितिको सिफारिस


काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्नता रहेको भन्दै कारबाही सिफारिस गरिएको हो। समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगाएको ठहरसहित अध्यक्ष जीबी भनिने गीतेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कका प्रबन्धनिर्देशक लामिछाने तथा सञ्चालकद्वय कुमार रम्तेल र छबिलाल जोशीलाई कारबाही गर्न समितिले सरकारलाई सिफारिस गरेको छ।

राई, रम्तेल लामिछाने र सञ्चालक जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको विशेष समितिले जनाएको छ ।

साथै, समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकको सम्पत्तिदेखि विदेश यात्रासम्ममा रोक लगाउन सिफारिस गरेको छ ।