Breaking

अर्खाखाँचीमा १० जना सवार जिप भिरबाट खस्यो


काठमाडौँ – अर्खाखाँचीमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडक खण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले जानकारी दिए।

छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रवक्तासमेत रहेको प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए।

‘दुर्घटनामा गाडी चालक सहित १० जना घाइते भएका हुन्,’ उनले भने, ‘घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक रविन्द्र चन्दको कमाण्डमा १० जनाको टोलि खटिएको छ।’ घटनास्थल इलाका प्रहरी कार्यालय ठाडाबाट करिब १२ किलोमिटर दक्षिणमा पर्छ। घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको इन्सपेक्टर कार्कीले बताए।