काठमाडौँ— सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो ।
आज बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । ‘५ वटा हिमताल रहेकामा २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको उहाँहरुले बताउनुभएको छ’, पाण्डेले अनलाइनखबरसँग भनिन् ।
बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका(३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ ।
प्रतिक्रिया