मौसम

निरन्तर वर्षासँगै काठमाडौंको वायु सफा


काठमाडौँ— निरन्तर वर्षासँगै काठमाडौं उपत्यकाको वायु स्वस्थकर बनेको छ । वातावरण विभागको पछिल्लो २४ घण्टाको रेकर्डअनुसार उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर एक्यूआई (एयर क्वालिटी इन्डेक्स- २० भन्दा कम छ ।

एक्यूआई सबैभन्दा कम रत्नपार्कमा पाँच छ । यस्तै, भक्तपुरमा आठ, खुमलटारमा नौ, शंखपार्कमा १८ छ । उपत्यकाबाहिर सबैभन्दा कम एक्यूआई नेपालगञ्जमा चार रेकर्ड भएको छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । सोभन्दा माथि भए वायु अस्वस्थकर तथा जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ । काठमाडौंमा फागुनदेखि वैशाख अन्तिमसम्म अधिकतम एक्यूआई ३०० सम्म पुगेको विभागको रेकर्ड छ ।