Breaking

तीन दिनअघि पनि गरिएको थियो ढल्कुमा खुकुरी प्रहार, ‘बदला लिन’ हत्या, १३ जना पक्राउ


काठमाडौ – नेपाल प्रहरीले बुधबार दिउँसो साढे ३ बजे सूचना पायो, ‘ढल्कु क्षेत्रमा ‘ग्याङ फाइट’ भयो ।’ लगत्तै प्रहरी वृत्त सोह्रखुट्टेको टोली घटनास्थल पुग्यो ।

काठमाडौं महानगरपालिका–१७, पोडेटोलस्थित दुई नम्बर गल्लीमा उक्त घटना हुँदै थियो । छिमेकी–छिमेकीबीच खुकुरीसहित ‘ग्याङ फाइट’को घटना नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

झगडामा उत्रिएका युवादेखि महिलालाई नियन्त्रणमा लिन प्रहरीलाई सकस भएको थियो । त्यसक्रममा खुकुरी प्रहारबाट सोही ठाउँका ३३ वर्षीय अनित पुजारीको घटनास्थलमै मृत्यु भयो । उनको शरीरभरि अन्धाधुन्ध खुकुरी प्रहार गरिएको थियो ।

घटना यतिमै रोकिएन । एकापसमा खुकुरी हानाहानका क्रममा थप तीनजना गम्भीर घाइते भए ।

आरोपितलाई पक्राउ गर्ने कि पीडितलाई अस्पताल पठाउने भन्ने प्रहरीमाथि दबाब थियो । अनितका दाइ र भाउजू समेत गम्भीर घाइते थिए ।

प्रहरीका अनुसार, अनितका दाइ ४९ वर्षीय दिनेश पुजारीको एउटा हातका तीन औँला छिनालिएका छन् । उनकी भाउजू ४२ वर्षीया माया पुजारीमाथि समेत अन्धाधुन्ध खुकुरी प्रहार गरिएको थियो ।

घाइतेमध्ये मायाको अवस्था गम्भीर छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

मायाका श्रीमान् अर्थात् अनितका दाइ दिनेशको पनि उपचार जारी छ । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । ट्रमा सेन्टरमै अर्का एक घाइतेको पनि उपचार भइरहेको एसपी अधिकारीले बताए ।

उनीहरूबाहेक स्थानीय ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षीय अमृत पुजारी सामान्य घाइते छन् ।