Breaking

सेयर बजारमा करेक्सन, १६ अर्बमाथिको कारोबार


काठमाडौँ— अघिल्लो कारोबार दिन ७५ अंकले बढेको सेयर बजार आजको कारोबारमा २७ अंकको करेक्सन देखिएको छ । आजको कारोबारमा बजार २७.३२ अंकले घटेर २५३६.११ अंकमा कायम छ ।

बजारमा करेक्सन देखिँदा ४६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ ।

बजार घटे पनि कारोबारमा भने करिब साढे दुई वर्षपछि १६ अर्बमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

आजको कारोबारमा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । चार करोड सात लाख ४७ हजार २२६ कित्ता सेयर एक लाख ८८ हजार ८६५ पटकमा खरिद बिक्री भएको छ । बोटलर्स नेपाल (तराई) लिमिटेड, एसियन हाइड्रो, चन्द्रागिरि हिल्स, समृद्धि फाइनान्स, आरम्भ चौतारी लघुवित्त शीर्ष कमाउने कम्पनीमा रहे ।

समूहगत उपसूचकतर्फ फाइनान्स समूह र होटेल तथा पर्यटन क्षेत्र बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।