Breaking

हाँसोको पात्र बने बिराजभक्त, सहानुभूति देखाउँदै व्यांग्य, सत्ता छोड्ने यस्तो तयारी


काठमाडौँ – निकै आशा देखाएर मन्त्रिमण्डलमा आएका युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ काम गर्न नसकेर हायलकाय छन् । जसका कारण सार्वजनिक मञ्चहरूमा उनको असन्तुष्टि पोखिँदा धेरैले भरोसा गरेका उनी अहिले हाँसोका पात्र बनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालको मन्त्रिपरिषद्मा आशा गरिएका केही मन्त्रीमध्येका एक हुन्, युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ । मन्त्रालयको नाम जस्तै नेतृत्वमा पनि युवा नै आउँदा गुमनामको अवस्थामा रहेको मन्त्रालय चलायमान हुने साराले अपेक्षा गरेका थिए । सुरुवाती दिनमा अपेक्षा अनुसार नै मन्त्रालयले सकारात्मक सन्देश नदिएको पनि होइन । राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति नलिकन खेलाडीसँगै मलेसिया गएका एन्फा उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।
राखेपले पनि मन्त्रालयको दबावमै अखिल नेपाल फुटबल सङ्घलाई पत्र काट्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, अहिले ऐनको डण्डा चलाउने र खुट्टा नकमाई अघि बढ्ने सङ्कल्पसहित मैदानमा उत्रिएका मन्त्री श्रेष्ठ समयसँगै शिथिल बन्दै गएका छन् । उनमा देखिएको जोस, जाँगर अहिले सेलाउँदै गएको देखिन्छ ।

मन्त्रीमा नियुक्त भएको सुरुवाती समयमा देखिएको उनको त्यो उर्जा अहिले गठबन्धन सरकारसँगको उठबसले सेलाएको छ । यसअघि नेतृत्व नै असक्षम हुँदा रुग्ण बन्दै गएको खेल क्षेत्रमा मन्त्री श्रेष्ठको आगमनले केही नयाँ आशा जगाएको थियो । तर खुट्टा नकमाउने भनेर प्रतिबद्धता गरेका मन्त्री श्रेष्ठ अहिले एकाएक किन नरम बन्दै गएका छन् ? सबैलाई आश्चर्य लागि रहेको छ ।

मन्त्री श्रेष्ठले आफूलाई अनावश्यक र अनधिकृत सम्झौता गर्न बाध्य पारे राजीनामा पत्र बोकेर हिँडिरहेको जस्ता निराशाजनक अभिव्यक्ति दिने गरेका छन् । विश्वकप क्रिकेट जस्तो प्रतियोगितामा राष्ट्रिय खेलाडीलाई भिसाको समेत व्यवस्था मिलाउन नसकेको बिराजमाथि कहिल्यै नमिटिने गरी आलोचनाको ट्याग लागेको छ । उनकै पालामा एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रङ्गशालाको स्तर पनि खस्कदा नेपालले फिफा विश्वकप छनोटका लागि घरेलु मैदानमा खेल्नु पर्ने दुई खेल विदेशी भेन्युमा गएर खेल्नु प¥यो ।

स्काउटको जग्गामा व्यक्तिले रजगज गरिरहँदा दुई÷तीन वटा स्टाटस लेखेर तर्साउन खोजेका बिराजले त्यसलाई फिर्ता गराउन सकेका छैनन् । फ्लड लाइट हाल्नेदेखि कीर्तिपुरको रंगशाला निर्माण गर्ने काम सफल हुन सकेको छैन । पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउने योजनामा रहेका श्रेष्ठ आजसम्म असक्षम देखिएका छन् । उनको यो सय दिनको कार्यकालमा सरकारले खेलाडीका लागि घोषणा गरेको पुरस्कार रकम उपलब्ध गराउनेबाहेक अन्य सम्झन लायक उपलब्धि देखिँदैन । यद्यपि, आफ्नै अभिव्यक्तिका कारण उनी हाँसोका पात्र बनिरहेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा कुल बजेटको तीन अर्ब ५० करोड ४७ लाख ८९ हजार युवा तथा खेलकुद मन्त्रालयका लागि विनियोजन गरिएको छ । ४० प्रतिशतसम्म युवा रहेको देशमा कुल बजेटको ०.१९ प्रतिशतमात्रै रकम छुट्याउँदा त्यसबाट कुनै प्रतिफलको आश गर्न सकिँदैन । खेलकुदलाई मनोरञ्जनको रुपमा मात्रै सोच्दा यसमा विनियोजन गरिएको बजेटले अपेक्षा र आवश्यकतालाई धात्र सक्दैन । छुट्याइएको बजेटमा पनि अधिकांश रकम प्रशासनिक क्षेत्रमा नै खर्च हुँदा युवा र खेलाडीको प्रतिभा प्रस्फुटन भए पनि त्यसले सार्थकता भने पाउन सक्दैन । त्यसैले मन्त्रालयको नेतृत्वमा बसेर राजीनामा पत्र लेखेर निरुत्साहित हुनेभन्दा मन्त्रालयमा बजेट वृद्धि गर्नतर्फ ध्यान दिन सत्ता घटक दलका नेताहरूले नै खेलकुदमन्त्रीलाई सुझाएका छन् ।

‘प्लेयर अफ दि म्याच’ भने जस्तै मन्त्रालयको डेब्युमा नै उत्कृष्ट मन्त्री हुने आशा गरिएका पात्र भए पनि सत्ता पक्षकै सांसददेखि विपक्षीको हाँसोको पात्र बनिरहेका छन् । उनीमाथि सहानुभूति राखेको जस्तो गरेर व्यङ्ग्य भइरहेको छ । सिंहदरबार जाँदा हटकेसमा खाना लैजाने गरेको विषयले चर्चा र लोकप्रियता कमाए पनि सय दिनेको समीक्षा हुँदैगर्दा भने उनको साख नै गिर्ने हो कि भन्ने सम्भावना बढ्दो देखिन्छ ।