Breaking

सबै फोहोर बालेन शाहको घर अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं : सांसद अमरेश


काठमाडौँ— स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् । आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह गरे ।

बालेन जी, यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । म यही संसद्‌मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं,’ उनले भने ।

यस्तो महानगरका मेयर शाहले नै सिकाएको उनले बताए । ‘टिट फर ट्याट । उहाँले नै यो सिकाएको हो,’ उनले भने । यसअघि महानगरपालिकाले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो । महानगरका मेयर शाहलाई उनले पपुलिजमको समेत संज्ञा दिए ।

‘पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिएको छ । हिटलर पनि निर्वाचित भएर आएका थिए’ उनले भने, ‘तर हिटलरको कारणले जर्मनीको के हाल भएको थियो ?’
पपुलिजमको अवस्थामा मेयर शाहले समर्थन पाइरहेको पनि उनको टिप्पणी छ । आज पपुलिजमको अवस्थामा हामी ताली बजाइरहेका छौं’ उनी थप्छन्, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो । ‘ विभेदमा चल्न खोजेको हो । पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो ।’

नेपाल न्यायको भूमि रहेको र हाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अभ्यासमा रहेको उल्लेख गर्दै उनले थपे, ‘गणतन्त्रमा एउटा गरिब, निर्धाले पनि कानुनी राज्यको महसुस गर्न पाउनुपर्छ ।’यसका सम्बन्धमा सरकारलाई जवाफ दिन लगाउने गरी रुलिङ गर्न सभामुखसँग माग गरे । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने माग गरे ।