राजनीति

रविसँग भिडेदेखि कांग्रेस लापता, गगन–विश्व नै निरीह, कोइराला कुन दुलोमा ?


पछिल्लो केही समययता कांग्रेस संसदीय र पार्टी राजनीतिबाट हराएको छ । न त राम्रोसँग पार्टीका गतिविधि चलेका छन् न संसदमा शसक्त प्रतिपक्षको भूमिका नै । बरु पार्टी सभापति शेरबहादुर देउवालाई चलायमान बनाउन दबाब दिने उपसभापति र महामन्त्रीको तप्का नै उनै देउवाको उत्तराधिकारीको दौडमा छन् ।

तीन महिना रवि लामिछाने तह लाउन संसदमा उर्जा देखाएको कांग्रेस पछिल्लो एक महिनादेखि लापता छ । कांग्रेसका संसदीय र पार्टी राजनीतिका गतिविधि टर्स बालेर खोज्दासमेत नभेटिने अवस्था छ । सभापति शेरबहादुर देउवाकै अर्कमण्यताले संसदको सबैभन्दा ठूलो दल भएर पनि सरकारको नेतृत्व गर्न सकेन । जुन कांग्रेसले सबैभन्दा ठूलो गल्ती गरिसक्दा त्यसबाहेकका गतिविधि पनि सन्तोषजनक छैनन् ।

वैकल्पिक समीकरणमार्फत सत्तामा फर्किने सबै विकल्पहरु पनि समाप्त भइसकेका छन् । अहिले बजेट वितरणको विषयलाई लिएर सत्तापक्षकै सांसदहरु शीत युद्धको अवस्थामा रहेका बेला यही मौकालाई समेत सदुपयोग गर्न सकेको छैन । बरु सहकारी प्रकरणमा छानविन समिति बनेर आफ्नो सरकार ढाल्ने मुद्दा असफल भएको बुझेको कांग्रेसले गिरीबन्धुजस्ता प्रकरणमा आफ्नै पार्टीका नेता जोडिएका मुद्दामा सम्झौता गर्दा अहिले राष्ट्रिय राजनीतिमा उसका एजेण्डा नै हराएका छन् । यतिसम्म कि सरकारको नेतृत्व गर्ने वा ०८४ सम्म प्रतिपक्षमै बस्ने भन्नेबारे समेत पार्टी दोधारमै छ ।

गत जेठ २६ गते मात्रै पार्टी ०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका कांग्रेस महामन्त्री गगन थापाले असार १ गते चाहिँ अहिलेका समस्या समाधान गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका थिए । यसबाहेक पार्टी सांगठनिक रुपमा पनि भताभुंग अवस्थामा छ । दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक ३ महिना बित्दासमेत बस्न सकेको छैन । जसका कारण गत फागुनमा गोदावरीमा बसेको महासमितिले पारित गरेका चारवटा प्रतिवेदनहरु अलपत्र परेका छन् । ती प्रतिवेदनहरुकै कारण कांग्रेसले प्रतिपक्षको बाटो रोज्नुपरेको थियो ।


तर, तीन महिनासम्म दराजमा थन्किएका ती फाइलहरुको धुलो टक्टक्याउन नसकेको कांग्रेसले परिमार्जनसहित प्रतिवेदन पारित गराउने तयारी गरेको बुझिएको छ । त्यसका लागि बल्ल यही साताभित्र केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाँकेर संशोधनका लागि कार्यदल गठन गर्ने र कार्यदलको सुझावका आधारमा असार अन्तिम साता केन्द्रीय समिति बैठकमार्फत परिमार्जनसहित पारित गर्ने तयारीमा कांग्रेस छ ।

पार्टी सभापति शेरबहादुुर देउवाले महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु २ वर्षसम्म पनि गठन गर्न सकेका छैनन् । ७० मध्ये १८ विभाग मात्रै गठन भएका छन् । सबैजसो भ्रातृ संस्थाहरु तदर्थ समितिको भरमा चलिरहेका छन् । महाधिवेशन भएको दुई वर्ष बित्दा पनि कोषाध्यक्ष नै मनोनीत गरिएको छैन । अर्थात विधान मिच्ने देउवाको शिलशिला जारी छ । यस्तो अवस्थामा युवा नेतृत्व भएकाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाप्रति धेरै नेता कार्यकर्ताको विश्वास पनि थियो । देउवामाथि दवाव सिर्जना गर्ने अपेक्षा थियो । इतरपक्ष अहिले रमिते मात्रै बनेको छैन कि इतरपक्षमै आन्तरिक शक्ति संघर्षले देउवालाई थप राहत भएको कतिपयको बुझाइ छ ।

पार्टी विधान अनुुसार शेरबहादुर देउवा १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुन पाउँदैनन् । त्यसैकारण अहिले संस्थापन र इतर दुबै पक्षका नेता देउवाको उत्तराधिकारी बन्ने प्रयत्नमा देखिएका छन् । यतिसम्म कि पार्टीको दोश्रो महत्वपूर्ण जिम्मेवारीमा रहेका उपसभापतिद्वय र महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला, शशांक र शेखर कोइराला लगायत नेताहरु उत्तराधिकारी बन्ने लाइनमा रहँदा देउवाको अर्कमण्यताका सामु निरीह रहेको चर्चा हुने गरेको छ । देउवाले अहिले नै उत्तराधिकारी घोषणा गर्ने अवस्था नरहे पनि शक्ति आर्जनका लागि भइरहेको दौडधूपलाई नेताहरु स्वभाविक मान्छन् ।
एकातिर पार्टी गतिविधि नै सक्रिय नहँुदा कैयन नेता कार्यकर्ता जिम्मेवारीबिहीन बनेका छन् । अर्कोतर्फ संसदीय राजनीतिसमेत कमजोर बन्दा कांग्रेसको आफ्नै भएको शक्ति पनि क्षीण बन्दै गइरहेको छ ।