Breaking

कर्मचारीले नेताको बाटो छेके, संसदमै कालोपट्टी, पैसा नबढाए सदन ठप्प !


नीति निर्माण हुने थलो संघीय संसदको सचिवालयका कर्मचारीहरु नै आन्दोलित बनेपछि नियमित काम कारबाही प्रभावित हुने देखिएको छ । कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधा थप गर्न माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएका कर्मचारीहरुले माग पूरा नभए सामूहिक राजीनामा दिने धम्की दिएका छन् ।

दृश्यमा देखिएका यी कर्मचारीहरु संसद भवन नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयका कर्मचारीहरु हुन् । आ–आफ्नो कार्यकक्षमा हुनु पर्ने उनीहरु यो भुँइमा के गर्दैछन् ? भन्ने चासो लाग्नु स्वभाविक हो । संसदमा कार्यालयको समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरु थप गर्न माग गर्दै जेठ ३० गतेदेखि उनीहरु आन्दोलनरत छन् । मंगलबारदेखि हातमा कालो पट्टी बाँधेर उनीहरु धर्नामै बसेका छन् । संसद सचिवालयमा कार्यरत कार्यालय सहयोगीदेखि सचिव तहका कर्मचारीहरु तलब र अतिरिक्त भत्ताको माग गर्दै धर्नामा बसेका हुन् । उनीहरुले मंगलबार संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयको कार्यकक्ष नै घेराउ गरे ।

घरभाडा समयानुकूल बनाउनु पर्ने संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ व्यवस्था पुनरावलोकन हुनुपर्ने लगायतका विभिन्न ११ बुँदे मागसहित कर्मचारी आन्दोलित बनेका हुन् । अहिले आवास भत्ता तीन हजार र ३५ सय दिँइदै आइएको छ । मंगलवार बिहान १० देखि ११ बजेसम्म धर्ना दिइएको थियो । त्यसपछि उनीहरु नियमित काममा फर्किएका छन् ।

माग पूरा नभएसम्म आफूहरुको विरोध जारी रहने उनीहरुले जनाएका छन् । बुधवारदेखि १० देखि १२ बजेसम्म धर्ना बस्ने र नियमित काममा फर्किने कार्यक्रम रहेको छ । यसो गर्दा माग सम्बोधन नभए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् ।

बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधा सुनिश्चितता हुनुपर्ने माग उनीहरुको छ । यस विषयमा सोमबार सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुले कर्मचारीहरुसँग छलफल गरेका थिए । छलफल सकारात्मक रहे पनि लिखित जवाफ नआएपछि कर्मचारीहरु मंगलबार धर्नामा उत्रिएका हुन् । यो विषय संसद बैठकमै प्रवेश भएको छ ।

संसद बैठकमा गएका सांसदहरुलाई कर्मचारीले बाटो छेकेपछि सांसदहरुले कर्मचारीहरुलाई भत्ताको व्यवस्था गर्न माग गरेका छन् । अन्य मन्त्रालयको बजेट कटौती गरेर भए पनि कर्मचारीलाई भत्ता दिनुपर्ने आवाज सांसदहरुको छ ।

केही दिन अघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘हस्, भइहाल्छ मात्रै भन्ने होइन, व्यवहारमा रूपान्तरण चाहिन्छ’ भन्दै कर्मचारीलाई काम देखाउन निर्देशन नै दिएका थिए । यता ओभरटाइम काम गरेका कर्मचारीहरुले काम गरेको भत्ता सुविधासमेत नपाउने अवस्था बन्नु सरकार कै निर्देशन र व्यवहार अमिल्दो देखिएको छ ।

जसको परिणाम स्वरुप कर्मचारीहरु आन्दोलित बन्न पुगेका छन् । देशकै नीति निर्माण हुने थलो संसद सचिवालयका कर्मचारी नै आन्दोलित बन्नु पर्ने अवस्थाले संसदको नियमित गतिविधिसमेत प्रभावित हुने र सरकारको सुशासनको नारालाई समेत यसले गिज्याउने अवस्था बनेको छ । संसद सचिवालय र संम्बन्धित निकायले यस विषयलाई गम्भीर रुपमा लिए बेलैमा समस्या सुल्झाउन आवश्यक देखिन्छ ।