Breaking

झलनाथ र घनश्याम एक हुँदा माधवलाई सास्ती, अध्यक्ष धरापमा


काठमाडौँ – पटक पटक गरी २७ वर्षसम्म एमाले धारको कम्युनिष्ट पार्टीको नेतृत्व गरेर ‘कोरा कम्युनिष्ट’हुन पार्टी फुटाएका माधवकुमार नेपाल र झलनाथ खनाल पदकै लागि भिड्न थालेका छन् । सधैँ सँगै रहने अनि सधैँ मदभेद पनि रहिरहने उनीहरु पाँच दशकपछि पनि नेतृत्वकै लागि प्रतिस्पर्धी देखिएका छन् । महाधिवेशनका लागि तयार पारिएको दस्तावेजमै फरक फरक सुनिएका उनीहरु नयाँलाई नेतृत्व हस्तान्तरण गर्नुभन्दा पार्टी नै समानान्तर रुपमा चलाउन उद्दत उनीहरुको धित कहिले मर्छ ? प्रश्न उठ्न थालेको छ ।

तीसको दशकदेखि राष्ट्रिय राजनीतिको नेतृत्वमा रहेका माधवकुमार नेपाल र झलनाथ खनाल फेरि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । यही असार १६ गतेदेखि महाधिवेशन गर्न लागेको एकीकृत समाजवादीमा नेतृत्वमा जानकै लागि उनीहरु हरेक बोली फरक सुनिन थालेको यसअघिबाटै चर्चा छ । त्यसको छनक भ्रातृ संगठन युवा संघ भित्रको विवाददेखि राजनीतिक दस्तावेजसम्ममा देखिँदा उनीहरु सधैसँगै हुने सधैँ मतभेद हुने पात्रसमेत बनेका छन् ।

जुन महाधिवेशनको मुखमा अझ बढ्दा अध्यक्ष नेपालले दोहोरिने चाहना राखेका छन् । सम्मानित नेता खनाल उनलाई चुनौती दिन मैदानमा उत्रने तयारी गर्दैछन् । जहाँ पार्टीको सैद्धान्तिक कार्यक्रमबाटै उनीहरुमा मतभेद छ । अध्यक्ष नेपाल र उनी निकट नेताहरु, एमालेकै जस्तो जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने पक्षमा रहँदा खनालले जबज अबको मार्गदर्शक सिद्धान्त हुन नसक्ने व्याख्या गर्दै आएका छन् ।

पार्टी फुटाउन माधवलाई साथ दिए पनि त्यसपछिका हरेक विषयमा खनाल फरक सुनिँदै आएका छन् । जसलाई पहिलेबाटै एकीकृत समाजवादीको आगामी नेतृत्वको तयारीसँग जोडेर हेरिँदा यी दुईले पटक पटक गरेर एमालेमै समेत २७ वर्षसम्म एमाले धारको कम्युनिष्ट पार्टीको नेतृत्व गरिसकेका छन् । त्यस्तै देशको प्रधानमन्त्री र पटक पटक सांसद भएका उनीहरु अहिले राष्ट्रिय पार्टी बनाउन नसकेको लाज पचाएर त्यही दलको नेतृत्वमा जान कम्मर कसेर लागेका छन् ।

पार्टी नेतृत्व छाडेको १० वर्षपछि फेरि खनाल उक्त पदका लागि तयारी गर्दैगर्दा माधव पनि नेतृत्वबाट नहट्न साम, दाम, दण्ड, भेद प्रयोग गरिरहेका छन् । जहाँ नेपाल अहिले माधवले पनि आफ्नो विचार मानेको भन्दै खुसी हुँदै सहमतीमा नेतृत्व चयन गर्नुपर्ने बताउन थालेका छन् ।

अझ गज्जब त के छ भने माधव नेपालले एकीकृत समाजवादी बनाउँदा एमालेमा उमेर हदको व्यवस्था थियो । पहिले पार्टीको ‘संक्रमणकालीन अवस्था’ भनेर यो व्यवस्था हटाइँदा माधव र खनाल पदाधिकारीमा भिड्ने अवसर सिर्जना गर्न नै यसैलाई निरन्तरता दिइयो । त्यस्तै केन्द्रीय नेता महाधिवेशन प्रतिनिधिमा चयन हुनुपर्ने पार्टी विधानको व्यवस्था हटाइएको छ भने योसँगै पार्टी नेतृत्वमा प्रतिस्पर्धा हुनुपर्ने, पुस्तान्तरण हुनुपर्ने जस्ता बहसमाथि पानी खन्याइएको छ ।

जसको विकल्प भन्दै महासचिव घनश्याम भुसालले च्याखे थाप्न खोजे पनि दशबुँदेमार्फत एमालेमा फर्किएर चिठ्ठामा एकीकृत समाजवादीको महासचिव पारेको लाजले आँट गर्न सकेका छैनन् ।

जसले पाँच दशकपछि पनि नेतृत्वकै लागि प्रतिस्पर्धीका रुपमा माधव र खनाललाई नै उभिने वातावरण सिर्जना गर्दा माधव भने आफ्नो पार्टीमा कुनै मतभेद र अफ्ठ्यारो नरहेको दाबी गर्छन् । पार्टीले नेता, कार्यकर्ताहरुको सहमतिबाटै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको उनको तर्क छ ।

हुन त झलनाथ एमाले निकट जस्तो देखिँदा माधव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नै नसकिने बुझाइमा छन् । बरु नयाँ समीकरणबाटै एकचोटी प्रधानमन्त्री हुने सोचमा रहेका उनी पार्टी बलियो बनाउन आफ्नो आवश्यकता रहेको बताउँदै आएका छन् ।

त्यसैका लागि वातावरण बनाउने उनको कदम आफूलाई पेल्ने गरी आएको झलनाथको बुझाइले भ्रातृ संगठनसमेत मारमा पर्दा कोरा कम्युनिष्ट बन्न हिँडेको नयाँ पार्टीमा समेत ७० कटेका बुढाहरुको भिडन्त नै बढो रोचक देखिन्छ । जसले नेपाली राजनीतिको असली चरित्र प्रष्ट पार्दा आफ्नो पार्टी नेपाली राजनीतिमा विकल्प हुने एकीकृत समाजवादीका नेताहरुको भाषणसँग लाज पनि लजाइरहेको छ भन्दा अतिशयोक्ति हुँदैन ।