Breaking

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन : मन्त्री शर्मा


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुने टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन्।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको कानुनअनुसार समाजलाई मान्य हुने गरी चलाउँदा टिकटक लगायत कुनैपनि सञ्जालहरूसँग आपत्ति नरहेको बताएकी हुन्।

‘हामीले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी गर्‍यौं। अहिले हामी सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा छौं। यो गर्दै(गर्दा सबै विषयमा हामीले छलफल गर्नुपर्छ,’ उनले भनिन्, ‘नेपालका कानूनहरू, नेपालको समाजको महत्व आफ्नै छ। यो सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरू आउँछन् भने टिकटक लगायत कसैसँग पनि आपत्ति छैन। टिकटक नाममा हाम्रो कुनै समस्या होइन।’

उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले बन्द गरेको बताइन्।