अन्तर्राष्ट्रिय

राहुल र केजरीवालसँग नडराएका मोदीमाथि युट्युबर ध्रुव राठी हाबी, किन सधैँ मोदीलाई खुइल्याउँछन् ? (भिडियोसहित)


काठमाडौँ— भारतमा मोदी सरकारको उदयसँगै मोदीविरुद्धको आवाजहरु दबिन थालेको छ । यसैबीच मोदीविरुद्ध बुलन्द आवाजका साथ एक युट्युबर उभिएका छन् । सामाजिक सञ्जालको चर्को विरोधसँगै मोदीलाई चुनावमा धक्का लाग्ने सम्भावाना देखिएको छ ।
भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याएर नरेन्द्र मोदी प्रधानमन्त्री बनेमा लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने कीर्तिमान बनाउने छन् । तेस्रो पटक प्रधानमन्त्री बनेर इतिहास रच्ने लक्ष्यमा छन् मोदी । तर यसमा मोदीले निकै चुनौती र संघर्ष गर्नु पर्ने अवस्था सिर्जना हुँदै गएको छ । भारतमा सन् २०१४ पछि नरेन्द्र मोदी युगको सुरुवातसँगै त्यसको प्रत्यक्ष प्रभाव मिडियामा देखियो ।

ठूलो संख्यामा भारतका प्रभावशाली मिडियाहरु मोदीकै छत्रछायाँमा छन् । उनको प्रत्यक्ष सहयोग पाएका मिडियाले मोदीकै भाषा बोल्छन् । भारत भरी १७ हजार पत्रपत्रिका र १ लाख म्यागेजिन प्रकाशन हुन्छन् । १ सय ७८ भन्दामाथि टेलिभिजन सञ्चालनमा छन् । मिडियाको संख्या यति ठूलो भए पनि भर पर्दो, सही सूचना दिने र निडर भएर विचार पस्किने सञ्चार माध्यम भने औँलामा गन्न सकिने मात्र छन् । स्वतन्त्र रुपमा समाचार पस्किने मिडियालाई अंकुश लगाइँदैछ । यस्तो असहज माहोलका बीच चर्चाको शिखरमा रहेका एक युट्युबर उदाएका छन् ध्रुव राठी । जसले भारतको राजनीति, समाज, वातावरण, धर्म, भ्रष्टाचार लगायतमा समसामयिक विषयमा खोज, अनुसन्धान गरेर भिडिओ पस्किन्छन् । नेपाल भारतको सीमा विवाद होस्, या भारत चीनबीचको सीमा विवाद राठीले बनाएका भिडिओहरूले सत्य, तथ्य खोतल्ने प्रयास गरेका छन् ।

भारतमा चुनाव आएसँगै चुनावी मुद्दामा आलोचनात्मक हुन नसकेका भारतीय मूलधार मिडियाले छोडेको खाडल पुर्न राठी सक्रिय छन् । लगातार दुई निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टीका नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । हिन्दु राष्ट्रवादी मुद्दा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाइँलगायतका कारण मोदी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सफल मानिन्छन् । यसपटक अयोध्यामा विशाल राममन्दिर निर्माण गरेर चुनाव लडेको कतिपयको बुझाइ छ । सत्तामा लगातार रहेकाले राज्य संयन्त्र र सञ्चार माध्यमलाई समेत प्रभावमा पार्न सकेका कारण संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देशमा भारतीय जनता पार्टी र तिनका नेता मोदीलाई चुनौती दिन सक्नेको कमी हुँदै गएको महसुस गरिएको छ । वर्तमान समयमा निकै चर्चित राठीले भारतीय लोकतन्त्रका लागि यो खतरनाक अवस्था रहेको औंल्याएका छन् ।
प्रतिस्पर्धामा आउन सक्नेलाई विभिन्न बाहनामा जेल पठाउने गरेको आरोप लागेको वर्तमान सरकारलाई चुनौती दिनेको सङ्ख्या भारतमा एकदमै कमी देखिएको छ । भारतका चर्चित मिडियामा समेत मोदीको प्रभाव परेको समयमा झिना मसिना विरोधका स्वर दबिन थालेका छन् । कालो बादलमा चाँदीको घेरा भनेजस्तै एक युट्युबरले भने सिङ्गो भारतमा लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका छन् । प्रमुख प्रतिपक्षीहरूले समेत विरोधको चर्को स्वर निकाल्न नसकेको अवस्थामा उनी प्रखर आलोचक भएर निस्केका छन् । विशाल भारत भरी ठूलो संख्यामा रहेका मिडियाहरू भन्दा उनको काम भिन्न छ । जसले गर्दा उनलाई पछ्याउनेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । सत्यको पक्षमा बोल्ने ध्रुव राठी यो चुनावमा मोदीका लागि खतराको घण्टी बनेका छन् ।