Breaking

मन्त्रीमा प्रचण्डको रेकर्ड, विवादैविवादको हैरानी, दुईमहिने मन्त्रीले ल्याएको अस्थिरता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफुलाई केन्द्रमा राखेर अस्थिरतामा रमाइरहेका छन् । भाषणमा स्थिरताको कुरा गरे पनि व्यवहारमा प्रचण्ड कति अस्थिर छन् भन्ने मन्त्री हेरफेरबाटै पुष्टि हुन्छ । १७ महिनाको अवधिमा प्रधानमन्त्री प्रचण्डले १८ पटक मन्त्रिपरिषदमा हेरफेर गरिसकेका छन् । मन्त्री मात्रै होइन, सत्तागठबन्धनमै पटक पटक अदलबदल गरेका छन् । सत्ता टिकाउने खेलमै प्रधानमन्त्री प्रचण्डले समय गुजारिरहेका छन् ।


देशमा सुशासन, विकास र परिवर्तनको खडेरी लागिरहेको बेला प्रधानमन्त्री प्रचण्ड भने आफ्नो कुर्सी जोगानका लागि रङ्गी बिरङ्गी नेताहरूलाई मन्त्रीको पदवी थमाउनमै व्यस्त छन् । सुरूवाती चरणमा सरकारले आम जनतामा केही उत्साह पैदा हुने खालका कार्य गरे पनि क्रमिक रूपमा सरकार कछुवाको गतिमा चल्न थालेको छ । सदनको अंगणितमा तेस्रो दलको हैसियतमा रहेपनि सत्ता र कुर्सी जोगाउनका लागि कहिले एमाले त कहिले कांग्रेसको सहारामा १७ महिनादेखि प्रचण्डले देशलाई अनेकौं अनुहारका मन्त्रीहरू दिएका छन् ।

तर, प्रचण्डले मन्त्री बनाएकाहरूबाट खादा, माला र बधाई थाप्नेबाहेक उल्लेखयोग्य काम भएको देखिदैन । आम नागरिकलाई कुन मन्त्रीको अनुहार कस्तो छ भन्ने समेत सम्झना छैन । सरकार निर्माणको छोटो समयमा नै गठबन्धन परिवर्तनको कीर्तिमानी कायम गरेका प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनमा पनि रेकर्ड नै कायम गर्नेतर्फ अग्रसर देखिएका छन् । कांग्रेससँगको गठबन्धनबाट आफूले सोचे अनुरूप काम गर्न नसकेको भन्दै नयाँ समीकरण बनाएको दुई महिनामै सत्तारुढ दल जसपा नेपाललाई विभाजनसमेत गराइदिए । सत्तासहयात्री दललाई नै फुटाइदिएपछि बाहिरिनु स्वभाविक हो । १२ सिटसहित सरकारमा गएको जसपा नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको सिकार बन्दा ५ सीटमा खुम्चिएर बाहिरिएको छ ।

सरकारबाट बाहिरिएसँगै जसपा नेपालले समर्थन पनि फिर्ता लिएको छ । अब प्रचण्डले फेरि संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । सत्तारुढ दलहरूले सत्तागठबन्धनको भविश्यमाथि प्रश्न उठाइरहँदा प्रचण्डले कांग्रेससँग सम्वाद बढाएका छन् । फेरि कतिबेला वर्तमान सत्ता समिकरण भत्किएर नयाँ समिकरण बन्ने हो भन्ने टुंगो छैन । त्रिशंकु संसदका कारण तेस्रो दल हाबी छ भने पहिलो र दोस्रो दल आलोपालो सहयोगी बन्न बाध्य छन् ।

सहकारी विवादमा गृहमन्त्री नै मुछिएका छन् । केही मन्त्रीलाई स्टन्ट गर्नमै फुर्सद छैन । अधिकांश मन्त्री गुमनाम छन् । आखिर पटक पकट फेरिएको समिकरण र थपिएका मन्त्रीबाट देश र जनताले के पाए ? पुराना दल र नयाँ दलमा के भिन्नता आयो ? आम रुपमा जवाफ आउने गरेको छ–जुन जोगी आए पनि कानै चिरेका । नयाँ दललाई पनि यथार्थ स्वीकार्न कठिन परिरहेको छ । अर्थात उनीहरू पनि पुरानै दलको बाटोमा गइसकेका छन् ।

प्रधानमन्त्री स्वयं देशमा उथलपुथल भइरहन्छ भन्छन । कसैले पेल्न खोजे पुक्क लात्ताले हानेर अघि बढ्ने उनको सार्वजनिक अभिव्यक्ति नै छ । उनको यो सोचाइ नै अस्थिरताको जड हो । फेरि ठूला दल कांग्रेस र एमाले बरु माओवादीको पछि लाग्न तयार छन् तर, मिलेर अगाडि बढ्न तयार छैनन् । यस्तो अवस्थामा प्रचण्डको वरिपरि राजनीति र सत्ता घुमिरहेको छ । प्रचण्ड भने अस्थिरतामा रमाइरहेका छन् । १७ महिनामा १८ पटक मन्त्रिपरिषद हेरफेर गरेका प्रचण्डले अझै कतिपटक तलमाथि गर्ने हुन टुंगो छैन ।