Breaking

रविको भिड सक्न ओली-प्रचण्ड-देउवा सफल, ८१ मै सकिए, सत्ता छोडेर सडकमा आउन दबाब


केही गर्ने हुटहुटी बोकेर राजनीतिमा आएका गृहमन्त्री रवि लामिछानेको लोभ लाग्दो क्रेज निरन्तर ओरालो लागिरहेको छ । उनको त्यो पुरानो लोकप्रियता छायाँमा पर्दै जाँदा अहिले गरिरहेको राजनीतिले सबैलाई दिक्क पारेको छ ।

सञ्चारकर्मलाई छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै राजनीतिमा होमिएका रवि लामिछानेले छोटो समयमै ठूला उपलब्धी हात पारे । २२ महिनाअघि मात्र राजनीतिमा पाइला चालेका रविले पत्रकारितामा हुँदा कमाएको चर्चाले नै उनलाई पार्टी सभापतिदेखि दुई पटक उपप्रधानसहित गृहमन्त्रालयसम्मको कुर्सीमा पु¥याइसकेको छ । सदनमा सत्ता र प्रतिपक्षी दुवैको भूमिका निर्वाह गरिसकेका रविको राजनीतिमा आगमनसँगै नेपालको राजनीतिले निराश बनेकाहरूमा केही आशा जगाएको थियो ।

साथै पार्टी स्थापनाको पाँच महिनामा नै जनताले रास्वपालाई राष्ट्रिय राजनीतिामा चौथो शक्तिको रूपमा स्थापित गराए । तर, समयचक्रसँगै रविको लोकप्रियतामा पनि ह्रास आइरहेको छ । इलामको उपनिर्वाचनको चुनावमा रास्वपा उम्मेदवारको जमानत नै जफत हुँदा रविसँगै रास्वपाको पनि जनतामा क्रेज घट्दै गएको पुष्टि गरेको छ । मत परिणामले मात्रै होइन विगतको तुलनामा पार्टीले जनताको भरोसा गुमाउँदै गएको स्वयम् पार्टी नेताहरू नै स्वीकार्छन् ।

सहकारी ठगीको विषयमा निरन्तर गृहमन्त्री लामिछानेको नाम जोडिएर आइरहँदा अहिले उनको राजनीतिले सबैलाई दिक्क पार्न थालेको छ । रास्वपा परित्याग गर्दै पार्टीको ब्याच र झण्डा बाग्मतीमा सेलाउनेदेखि सदस्यता जलाउनेसम्मका नेता कार्यकर्ता बढिरहेका छन् । सार्वजनिक मञ्चमा रविले दिने अभिव्यक्तिका कारण सहकारी ठगीमा काँध थाप्दै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत हैरान छन् । पत्रकारिता क्षेत्रमा र संसद्को विपक्षी कित्तामा हुँदासमेत नैतिकताको वकालत गर्ने रविमाथि अहिले सहकारी ठगीको आरोप लागिरहँदा पनि गृह र सत्तामा टाँसिरने उनको द्वेध चरित्रले सबैलाई सोच्न बाध्य बनाएको छ । रविको सहकारी ठगीको मुद्दालाई सत्तारुढ दल एमाले र माओवादीले आवश्यकताभन्दा बढी बोक्दै आएका छन् । तर, एउटै मुद्दाले दुई महिनादेखि सदन र राष्ट्रिय राजनीतिमा गाँठो पारिरहँदा अहिले तिनै सत्ता गठबन्धनका नेताहरू रविदेखि वाक्क बनेका छन् ।

सदन, सडक र सञ्चारमाध्यम सबै क्षेत्र सहकारी ठगीमा उनको भूमिकाको विषयले नै सधैँ चर्चामा छ । उनलाई दोषी वा निर्दोष करार गर्न दुई तप्का न्यायाधीश नै बत्र तम्सिएका छन् । तर, सदनमा दुवै तप्काले आफ्नो अडान छोडेका छैनन् । सुशासन नै आफ्नो र पार्टीको पहिलो प्राथमिकता भएको बताउँने रविको कथनी र करणीमा तारतम्यता खास्सै मिलेको देखिँदैन । रविले आफ्नो पुरानो साखलाई जोगाउने र माटोमा नै मिल्न लागेको लोकप्रियतालाई रोक्ने हो भने उनीमाथि लागेका तमाम आरोपलाई दुधको दुध पानीको पानी जस्तै छर्लङ्ग पार्न जरुरी भइसकेको छ ।

प्रधानमन्त्रीदेखि आफ्नै नेता कार्यकर्तासम्म रविको राजनीतिक चेतलाई देखेर अचम्मित भइरहेका छन् । कुनै बेला धेरै नेपालीको आशा भरोसाको केन्द्रको रुपमा रहेका रविको अहिलेको राजनीतिले ती सबैलाई निराश मात्र बनाएको छैन, सामाजिक सञ्जालमा उनले पाउने वाहवाही अहिले गालीमा परिणत भइरहेको छ । केही समयअघिसम्म रवि सत्तामा पुगे देशमा कायापलट हुने विश्वासमा रहेकाहरूको नै विश्वास टुट्दै गएको छ ।

परम्परागत राजनीतिभन्दा फरक र पुरानालाईसमेत सही ट्रयाकमा ल्याउन राजनीतिमा आएका रवि आफैँ पुरानै राजनीतिक पथमा हिँड्न थाले पछि उनको हुटहुटी फिका सावित हुँदै गएको छ । बहुविवाह काण्डले विवादमा तानिएका उनी नागरिकता प्रकरणमा सांसद पद नै गुमेपछि गृहमन्त्रीबाटै पदमुक्तसमेत भएका थिए ।

त्यसपछि, अग्नि परीक्षामा रहेका उनको दोषलाई जनताले एकपटकलाई माफी गर्दै फेरि उपनिर्वाचनमार्फत संसदमै फिर्ता पठाए । यसबाट उनी थप हौसिएका पनि थिए । तर, फेरि सत्ता मोहले गृहमन्त्री भएका उनलाई अहिले सहकारी प्रकरणले यसरी लखेटिरहेको छ कि अब उनलाई राजनीतिमा टिक्नै नसक्ने अवस्थामा पु¥याइदिएको छ ।

यो अवस्था आउनुमा उनी आफैँ जिम्मेवार छन् । आफूविरुद्ध उठेका प्रश्नलाई उनले जुन रुपमा निराकरण गर्नु पर्ने थियो, त्यसो नगरी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रमाण लुकाउनेदेखि तुच्छ अभिव्यक्ति दिँदै हिँड्नुले उनले अझै पनि निष्पक्ष र स्वच्छ राजनीति नबुझेको रुपमा धेरैले विश्लेषण गर्न थालेका छन् । यसले अरुलाई क्षति नगरी आफैँले आफैँलाई सक्काउने बाटो तय गरिरहेको देखिन थालेको छ । उनले आफ्नो राजनीतिलाई बुझ्न नसक्दा आफैँले कमाएको लोकप्रियता र जनतामा जागेको आशा भरोसासमेत माटोमा मिल्ने अवस्थामा पुगेको स्पष्ट छ ।