Breaking

ओलीः रवि सके, अब पालो बालेनको, जग र जरा खोजेपछि बालेनले भने– ओलीलाई थुन्नुपर्छ


काठमाडौँ – पछिल्लो केही दिनयता एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको वाकयुद्ध उत्कर्षमै छ । मेयर निर्वाचित हुँदा न्यायो स्वागत गरेका ओलीले अहिले किन बालेनका हरेक निर्णयमा खरो आलोचना गरिरहेका छन् ?

‘म सिंहदरबारमा आगो लगाइदिन्छु, नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्छ, नेता चोर हुन् ।’ यस्तै अभिव्यक्तिले पुराना नेता र राजनीतिक दलमाथि आगो ओकलेका बालेन्द्र शाह अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आमनेसामने भएका छन् । उनीहरुको शीतयुद्ध अहिले उत्कर्षमै पुगेको छ । बालेन मेयर निर्वाचित भइसकेपछि ओलीले बालकोटामा भेटेरै तबला उपहार दिएका थिए । अहिले त्यही तबला बजाएर ओली र बालेन एक अर्काको खरी झार्ने अर्थात अस्तित्व समाप्त पार्नेसम्मै भिडन्तमा अग्रसर भएका छन् । त्यसको संकेत पछिल्ला दुई दिनका भिडन्तले पनि गर्छ ।

ओलीको यो अभिव्यक्ति एक्कासी आएको पनि होइन । केही दिनअघि मात्रै ओलीले सुकुम्बासीका परालका छाप्रा भत्काउन डोजरको बल नदेखाउन काठमाडौं महानगरपालिकालाई चेतावनी दिएका थिए । उनको यही अभिव्यक्ति गत वर्ष पनि आएको थियो । फुटपाथ हटाउनेदेखि सुकुम्बासीका छाप्रा हटाउनेसम्मका निर्णयमा प्रतिकारमा उत्रिनेसमेत बताउँदै आएका छन् । हेप्ने मानिस कतै नभेटेपछि सुकुम्बासीमाथि जाइलागेको बताउने गरेका ओलीले बालेनलाई नै लक्षित गर्दै हचुवाको भरमा जितेकाहरु भन्दै टिप्प्णी गरे ।

लगत्तै बालेनले पनि ओलीमाथि अर्को प्रहार गरेका छन् । गिरीबन्धु चिया बगानको जग्गा साटफेर गर्न दिने निर्णय तत्कालीन ओली नेतृत्वको सरकारले बदनियतपूर्ण तरिकाले गरेको सर्वोच्चको फैसलाले पुष्टि गरेकाले उनीमाथि निर्मम कारबाही हुनुपर्ने बालेनले बताएका छन् । उनले भनेका छन्–‘…अब तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्छ यो सरकारले । जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रक्रियाबाट बैना फिर्तामा जानू होला तपाईंहरुको जग्गा प्राप्तीको बाटो सकिएको छ ।’

मेयर बालेन र एमाले नेता तथा कार्यकर्ताबीच ठूलै टसल परेको विषय नौलो भने होइन । तत्कालीन प्रधानमन्त्री ओलीले निर्माण नै सम्पन्न नभई २०७८ सालमा धरहराको उद्घाटन गर्दा बालेनले सेतो टावरको संज्ञा दिएका थिए । जब कि अहिले पनि धरहराको काम सकिएको छैन । बालेनले धरहरामा पार्किङ खुला गरेर ओली र तत्कालीन मेयर विद्यासुन्दर शाक्यमाथि आगो ओकलेका थिए । तत्कालीन भौतिक पूर्वाधार मन्त्री सीता गुरुङले समन्वय नै नगरी महानगरले पार्किङ खुलाएको भन्दै निर्णय फिर्ता लिन चेतावनी दिँदा बालेनले भने धरहरा उद्घाटन गर्ने ओलीसँग जवाफ माग्न भनेका थिए ।

गत फागुनमा सुन्धारामा भएको व्यवसायी र महानगर प्रहरीबीचको झडपका कारक पनि बालेनले एमालेलाई नै मानेका छन् । बालेनले नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यवसायी नभएर एमाले कार्यकर्ता भएको बताएका थिए ।


जनमतलाई लत्याउने अधिकार चाहे ओली चाहे प्रधानमन्त्री प्रचण्ड कसैलाई पनि छैन । तर ओलीकै भाषामा भन्दा जग र जरा नै नभएका बालेनसँग ९ लाख कार्यकर्ताको जरा भएका ओलीले न्वारान देखिकै बल लगाएर किन भिडिरहेका छन् भन्ने विषय भने गम्भीर छ ।

राजनीतिमा ओलीसँग पौँठेजोरी खेल्दाको परिणाम के हुन्छ भन्नका लागि डा. भीम रावल र माधवकुमार नेपाललाई हेरे पुग्छ । अहिले रवि लामिछानेलाई समेत कांग्रेससँग भिडाएर उनको मिसन ०८४ सिध्याउन ओली नै लागेको विश्लेषणका बिच अहिले बालेनमाथि ओलीको प्रतिषोधलाई पनि त्यसैको निरन्तरताका रुपमा लिने गरिएको छ । बालेन यीनै ओली, प्रचण्ड र देउवामाथि प्रश्न गरेर उदाएका पात्र हुन् । प्राविधिक र नीतिगत पाटोमा बालेनका कैयन कमजोरी छन् । तर दलहरुले गर्न नसकेका धेरै कामहरु उनले जनता सन्तुष्ट हुनेगरी देखाएका काउन उनको चर्चा यथावत् छ ।

त्यही चर्चाको बलमा सिंहदरबार जलाउनेजस्ता गैर जिम्मेवार हर्कत समेत प्रस्तुत गर्छन् । तर, जसरी रवि उदाए एमालेको राजनीति सुक्ने पीर ओलीलाई छ त्यसैगरी बालेन लगायत स्वतन्त्र जनप्रतिनिधीहरु ०८४ को निर्वाचनमा दल खोलेर रास्वपाकै विकल्प बन्ने चुनौती देखेका ओलीलाई आफूमाथि चुनौती देखेका छन् । बालकोटमा बालेनले दल खोल्छन् कि खोल्दैनन् भन्नेदेखि सामाजिक सञ्जाल र उनको पक्षमा लेख्ने एक दर्जन युट्युबहरुको अध्ययनसम्म गरेर बालकोट बसेको तथ्यले पनि ओली झस्किएको प्रस्ट छ । रवि लगभग सकेका ओलीको मिसन अब बालेन सक्नु हुनेछ ।