Breaking

देश टाट पल्टाउने ठगी, एकै जनाको ५६ बैंक खाता, प्रहरी नै चकित, अमेरिका पठाउने सुजन जेलमा


काठमाडौँ – अवैध अनलाइन जुवा (सट्टेबाजी) खेल खेलाएर २ अर्ब १ करोड बढी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । करिब एक महिना लामो अनुसन्धानपछि ५६ वटा बैंकका खाता प्रयोग गरेर (सट्टेबाजी) खेलाउने काभ्रेका अनिल ढंगाना प्रक्राउ परेका हुन् ।

अवैध अनलाइन जुवा (सट्टेबाजी) खेल खेलाएर २ अर्ब १ करोड बढी कारोबार गर्ने एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ । एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टेबाजी गर्न रकम लगाएको आरोपमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना पक्राउ परेका हुन्। उनले ५६ वटा बैंकका खाता प्रयोग गरेर कारोबार गरेको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकले एकमहिनाअघि विभिन्न व्यक्तिको शंकास्पद खाता नम्बर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पठाएको थियो।बैंककै खाता नम्बर प्रयोग भएर अवैध कारोबार भएको आशंकामा अनिल ढुंगानाको नाममा रहेको कुमारी बैंकको खातालगायत अन्य बैंकमासमेत अस्वभाविक रकम ट्रान्जिट भएको देखिएको राष्ट्र बैंकले पठाएको पत्रमाउल्लेख छ ।
बैंकबाट पत्र आएपछि कार्यालयको टोलीले अनिलमाथि अनुसन्धान थालेको थियो ।

करिब एक महिना लामो अनुसन्धानपछि अनिलले विभिन्न व्यक्तिको नामबाट ५६ वटा बैंकमा खाता खोलेर अवैध अनलाइन जुवा (सट्टेबाजी) खेलाउने गरेको खुलेको हो ।अनिललाई कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार अनिलको आफ्नो र विभिन्न व्यक्तिको खाता नम्बर प्रयोग गरी एक अर्ब ३४ करोडको कारोबार भएको देखिएको छ ।अनिलले ५५ वटा बैंक खातालाई ११ वटा कनेक्ट आईपीएसमा जोडेर ४८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको देखिएको छ । त्यस्तै, १५ वटा वालेटमार्फत पाँच करोड ९३ हजार ७८२ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।

त्यस्तै, डाइरेक्ट बैंक खातामार्फत ६१ करोड ६४ लाख ५९ हजार १२० रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । प्रहरीको अनुसन्धानबाट कुमारी बैंकको खाताबाट सात करोड, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकको खाताबाट समेत ६÷६ करोडको कारोबार गरेको देखिएको छ ।त्यस्तै, क्रिप्टो करेन्सी गरेर कुल दुई अर्ब एक करोड १८ लाख ४४ हजार १०२ रुपैयाँको अवैध कारोबार गरेको पाइएको हो । अनिलले आफ्ना परिवारका सदस्य तथा आफन्त र साथीहरूकोसमेत बैंक खाता दुरुपयोग गरेको पाइएको छ ।

अनिलले अनलाइन जुवाका लागि छुट्टै ‘जुवा ३६५’ नामको फेसबुक पेजसमेत बनाएका थिए । पेजमा आबद्ध हुनेहरूलाई विभिन्न प्रलोभनमा पारेर बेटिङमा सहभागी गराउने गरेको खुलेको छ । उनले नाम फेरेर भारतबाट अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड बनाएको फेला परेको छ । त्यस्तै, भारतीय एचडीएफसी बैंकमा खातासमेत खोलेको पाइएको छ । प्रहरीले अनिलमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जुवा वा सट्टेबाजी गर्न नहुने कसुर, मुलुकी अपराध संहिता २०७४ को दफा २२६ अनुसार र राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान थालेको छ ।

यता, टर्कीमा भूकम्प गएपछि क्षतिग्रस्त संरचना बनाउन राष्ट्रसंघले कामदार लैजाने भन्दै प्रलोभन देखाएरश्रीमान–श्रीमती र सालोले ठगीको धन्दा चलाएको खुलेको छ ।साढे २ करोड रुपैयाँ ठगीमा पक्राउ परेर श्रीमती र सालो जेल चलान भएको ६ महिनापछि ४ करोड रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका श्रीमानलाई प्रहरीले सोमबार नै सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले कास्कीको पोखरा महानगरपालिका–५ घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरेको हो ।

श्रीमती सुरुची र सालो सुजन भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९० जनाको २ करोड ५९ लाख ७९ हजार ५ सय रुपैयाँ ठगीको आरोपमा गत असोज ९ मा पक्राउ गरेको थियो । उनीहरु पुर्पक्षका लागि जेल चलान भएका थिए । अहिले भने ४ करोड ठगीको आरोपमा श्रीमान श्रेष्ठ पक्राउ परेका हुन् ।श्रेष्ठले टर्कीको युएन मिसन कार्यालयमा वर्किङ भिसामा कामदार पठाउने भन्दै १२४ जना व्यक्तिहरुबाट ४ करोड ३४ लाख रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

श्रेष्ठले मीनबहादुर कार्कीलगायत ४ जनालाई टर्की पठाउन भन्दै भारतसम्म लगेर १५ दिनसम्म राखेको पाइएको छ । १५ दिनसम्म कोही पनि सम्पर्कमा नआएपछि उनीहरु नेपाल फर्किएका थिए । विश्वास दिलाउन युएनमा कार्यरत व्यक्तिको नामसमेत उनीहरुले लिने गरेका थिए ।प्रहरी स्रोतका अनुसार यो गिरोहले युएनका महासचिवकै हस्ताक्षर कीर्ते गरेको खुलेको छ । महासचिव एन्टिनियो गुटेरेसको हस्ताक्षरसमेत कीर्ते गरेर विश्वास दिलाई रकम लिई ठगी गरेको खुलेको हो ।यसअघि पक्राउ परेकी सुरुचीको साथबाटसमेत गुटेरेसको कीर्ते हस्ताक्षर भेटिएको थियो । त्यतिबेला ९० जना पीडितहरुले जाहेरी दिएपछि उनी पक्राउ परेकी थिइन् ।पक्राउ परेका विनोद श्रेष्ठमाथि कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।