Breaking

रविलाई बोल्न नदिने सभामुख, कांग्रेस र रास्वपाको भिडन्तमा घ्यू थप्दै, मिलाउनु पर्ने सभामुख भँडुवा किन ?


काठमाडौँ – सदनमा प्राय सत्ता र प्रतिपक्षीबीच घम्साघम्सी चलिरहन्छ । अहिले कांग्रेस र गृहमन्त्री रवि लामिछानेको भिडन्तको थलो पनि संसद् नै बनिरहेको छ । तर, सदनलाई मर्यादित बनाउने जिम्मा पाएका सभामुख देवराज घिमिरे भिडन्तलाई साम्य पार्नेभन्दा पनि त्यसलाई उक्साउन तत्पर भएको देखिन्छ ।

विगत झण्डै दुई महिना देखि सदनमा नेपाली कांग्रेस र गृहमन्त्री रवि लामिछानेको भिडन्त चल्दै आईरहेको छ । यी दुईको भिडन्तकै कारण हिउँदे अधिवेशन अन्त्य गर्न सरकार बाध्य बनेको थियो । नीति तथा कार्यक्रम तय गर्ने मिति नजिकिँदै जाँदा सदनलाई चलायमान बनाउँन शुक्रबार नयाँ अधिवेशनसहित खुलेको सदनले फेरि उही पुरानै नियती भोग्नु प¥यो । तर, २६ दिन पछि खुलेको सदनमा यसअघि देख्दै आईरहेको प्रतिपक्षी र सत्तापक्षीबीच मात्रै भिडन्त नभई सभामुख देवराज घिमिरेको पनि भिडन्त देख्न पाईयो । निरन्तर चल्दै आएको अवरोधका कारण सभामुख घिमिरेको आवेग पोखिदा कांग्रेसले पनि सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आक्रोश देखाउन थालेको छ ।

कांग्रेस र रविको भिडन्तको बीचमा सभामुख घिमिरेले पनि इन्ट्री मार्दा संसद्मा आक्रोश पोखिएको छ । सदनलाई अनुशासित र मर्यादित बनाएर चलाउने काम, कर्तव्य र अधिकार सभामुखको हो । तर, कांग्रेस र रविको भिडन्तको थलो सदन बनाउँने काम नै सभामुखबाट भएको कांग्रेसको आरोप छ । कांग्रेसले गृहमन्त्री रविलाई बोल्न दिएर पछि कार्यसूची पेश गर्ने सोचे पनि सभामुखले पहिले नै कार्यसूची अघि सारेपछि कांग्रेस बिच्किएको थियो । सभामुख घिमिरेले सत्ता पक्षलाई पक्ष पोषण गरेको भन्दै उनको भूमिकामा सशङ्कित बनेको कांग्रेसको सभामुख आफै सदन बिथोल्न लागेको निष्कर्ष छ ।

सदन चलाउने बारे व्यवस्था समितिमा स्पष्ट छलफल हुने भए पनि सहमति नजुट्दै सभामुखले पुनः दोस्रो पटक बैठक चलाउनु पनि गलती देखिन्छ । जसका कारण रवि र कांग्रेस आमने–सामने हुन पुगे । दलहरूबीच बढेको दूरी घटाउन सभामुखले भूमिका खेल्न सक्ने भए पनि उनले निर्णायक पहल चाल्न नसकेको कांग्रेसको बुझाई छ । तर, सत्ता पक्ष भने कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले संसदमा गरेको हर्कतले संसदीय व्यवस्थामाथि कांग्रेसले विश्वास गुमाएको तर्क गर्छन् ।

बिहीबार सदन खुलाउन राखेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच घम्साघम्सी हुँदा उनी निरीह बनेका थिए । त्यस्तै शुक्रबार पनि बर्खे अधिवेशनको पहिलो बैठकमा संसद् अवरोध हुनुले उनको कार्य क्षमतामा प्रश्न उठेको छ । त्यसो त कांग्रेस र माओवादीको गठबन्धन हुँदा पनि सभामुख घिमिरे एमालेको इसारामा चलेको भन्दै उनीमाथि महाअभियोग लगाउनेसम्मको छलफल पनि भएको थियो ।

सत्ता र प्रतिपक्षीबीच मात्रै देखिएको भिडन्तको निशानामा सभामुख पनि पर्दा संसदीय व्यवस्थामाथि नै ठूलो प्रश्न उठेको छ । सरकार सत्ता पक्षको र सदन प्रतिपक्षीको हुने संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दलको मुद्दालाई सभामुखले बेवास्ता गर्दै अघि बढ्न खोज्ने पछि अहिले प्रश्न उठेको छ । सभामुखले सत्तापक्षलाई काखा र प्रतिपक्षलाई पाखा गर्दा कांग्रलेले आबेग पोखेको छ । यसले रवि र कांग्रेस मात्रै नभएर रवि, कांग्रेस र सभामुखको जस्तो त्रिपक्षीय भिडन्तको रुप देखा पर्दैछ। यो माननीयहरु बस्ने ठाउँमा देखिएको अमानवीय हर्कत हो ।