काठमाडौँ – सहकारी काण्डको मुद्दाले संसदमा सत्ता र प्रतिपक्षको भिडन्त उत्कर्षमा पुगेको छ । विस्तारै यो लहरोमा सभामुखसमेत तानिदा त्यसको परिणाम देखाइदिने भन्नेमा कांग्रेस पुगेको छ । फलतः संसदको गतिरोध अन्त्य हुनेभन्दा कसले कसलाई गलाउनेतर्फ उन्मुख भएको संसद कचहरीको थलो बन्दै गएको छ । जसको नैतिक जिम्मेवारी लिन दुबै पक्ष गम्भीर नबन्दा के यसैले यो मुद्दालाई वारपार हुन्छ त ? चासोसमेत बढेको छ ।
सहकारी प्रकरणको छानविन गर्न संसदीय समिति बनाउनुपर्ने मागमा अडिग रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्षको भिडन्त उत्कर्षमा पुगेको छ । पेलेरै जाने सत्ता गठन्धनको रणनीतिले यसमा सभामुख देवराज घिमिरेसमेत मिसिँदा हेपेर अघि बढे पावर देखाइदिने चुनौती कांग्रेसले दिइसकेको छ । सभामुखसँगको टसलकै कारण आजको दोस्रो बैठकमा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णयबाटसमेत कांग्रेस पछि हट्यो । अर्थात आफ्नो मागविरुद्ध सभामुखले पेलेर गएको बुझेको कांग्रेसले यो कदम देखाउँदा गृहमन्त्री लामिछानेलाई प्रमुख सचेतक रमेश लेखक र धनराज गुरुङले बीच बाटोमै छेकेका थिए ।
त्यसअघि बसेको पहिलो बैठकमै पनि कांग्रेस सांसद गगन थापाले सभामुखमाथि नै फायर खोलेका थिए । अधिवेशन आह्वानको पत्र पढ्ने र नवनिर्वाचित सांसदहरूलाई बधाई दिने काम सभामुखले गरे पनि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएन । यही समयमा कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि सभामुख घिमिरेले सांसद थापालाई दिएको ३ मिनेट समयमा विवाद देखियो । तीन मिनेटको समय कम भएको भन्दै कांग्रेस सांसदहरूले विरोध जनाएपछि आक्रोशित देखिएका सभामुखले सांसदलाई बोल्ने समय कसले दिने हो ? भन्दै थर्काएपछि कड्किएका गगनले आफूलाई कसैले दिएको निगाहको समय नभई अधिकारको समय चाहिएको भन्न भ्याए ।
अवरोधकै बीच सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन खोजेका थिए । उनले पत्र पढेर सुनाउन खोजेपछि कांग्रेसका सांसदहरूले रोष्ट्रम घेराउ गरे । कांग्रेस सांसदको चर्को नाराबाजी र अवरोधका कारण बैठक अघि बढ्न नसकेपछि संसद नै स्थगित हुन पुग्यो । त्यसअघि नै गगनले कांग्रेसको बटमलाइनलाई लिएर चेतावनी दिएका थिए ।
हुन त एमाले अध्यक्ष केपी शर्मा ओली यो मुद्दा अझै उचालियोस् भन्ने चाहनामा देखिन्छन् । फलतः कांग्रेस सडकमै जाओस् भन्ने ओलीको रणनीति भएको विश्लेषण गरिँदा संसदको पहिलो बैठकमा कांग्रेस लचक नै थियो । तर, एमालेको संसदीय दलको बैठकमा देखिएको दृष्य नै सभामुखले नक्कल गर्दा कांग्रेस आक्रोशित मात्रै बनेन सभामुखसम्मै यसमा लपेटिए । यही कारण हिजो यो रवि र रास्वपाको मात्रै विषय भएको भन्दै भाष्य निर्माण गरेको कांग्रेसका नेताहरुले यसमा एमाले पनि मिसिएको निष्कर्षमा पुग्दा सभामुखले पनि गैरसंसदीय काम गरेको भन्न भ्याइसकेको छ ।
यसले अन्तिम युद्धमा कांग्रेस लागि परेको प्रष्ट हुदाँ संसदबाट भाग्न नसकिने सरकारको अवस्था र त्यसैलाई प्रयोग गर्ने प्रतिपक्षीको रणनीतिले संसदको अवरोध कहिलेसम्म चल्छ अनिश्चित बनेको छ । जसको नैतिक जिम्मेवारी दुबै पक्षले नलिँदा सरकारले संसद खुलाउन पहल गर्नुपर्ने दवावमा सत्तारुढ दलहरु छन् । जुन कांग्रेसका लागि मौका बन्दा यो चोटी वारपार गर्ने उसको इच्छा पुरा हुने सम्भावना उच्च भएको छ ।
मुख्य कुरा त ‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखान झै रविमाथिको प्रश्न बलियो बन्दै जानुलेसमेत कांग्रेस हौसिएको छ । छानविन समिति नै मात्र बने पनि आफ्नो नैतिक जित हुने अर्को फाइदामा कांग्रेस रहँदा प्रतिपक्षीलाई सरकारले कहिलेसम्म बेवास्ता गर्छ ? प्रश्न यो पनि छ । जहाँ दोहोरो चेपुवामा परेका रविले कहिकतै गएर पछि हट्ने अवस्था आउने पक्का हुँदा ढाल बनेका ओलीको मायामासमेत स्वार्थ छ । उनी जतिसक्दो बढी फाइदा लिएर रविको साथ छोड्ने बाटोमा रहँदा त्यो बुझेको कांग्रेस यसै पछि हट्ला भन्न सकिँदैन ।


प्रतिक्रिया