Breaking

ओली–प्रचण्डको डिजाइनमा कांग्रेस र रवि नै हार्दै, गठबन्धन टिकाउने यस्तो छ नयाँ रणनीति


काठमाडौँ – विकल्पहरु खुला भएपछि हौसिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले आफू अनुकूलको अवस्था निर्माणमा व्यस्त छन् । कांग्रेस देखाएर रवि लामिछाने तर्साउने तथा रवि देखाएर केपी शर्मा ओलीको घेराबन्दी कमजोर बनाउने सोचेका उनी यही गठबन्धनमै सहजता खोजिरहेका छन् । त्यसो भए रविलाई पनि डाम्ने, देउवालाई पनि सफल हुन नदिने उनको रणनीति सफल हुन्छ त ?

आफँैले बनाएको समीकरणलाई धोका दिन नसक्ने भन्दै एमालेले मुख मोडेपछि माओवादी नै बोक्ने बाध्यतामा कांग्रेस पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हौसिएका छन् । योसँगै उनी नयाँ रणनीतिमा लागेका छन् भने आफूमाथि देखिँदै आएको घेराबन्दी तोड्ने बाटोमा लागेका हुन् । फलतः एकातर्फ सहकारीबारे छानबिन समिति गठनमा लचकता देखाउने अर्कातर्फ गठबन्धन टिकाउने दोहोरो भूमिका उनले खेलिरहेका छन् । अर्थात सहकारीको विषय जटिल मोडमा पुगेर छानबिन नै गर्नुपरे पनि त्यसका लागि तयार रहेका उनी त्यसपछि रास्वपाले सत्ता छाडे कांग्रेस नै बोक्न सकिनेसंकेत गरिरहेका छन् । जसको दबाबमा रविलाई छानबिनका लागि तयार गर्ने र उनको विकल्प ल्याएर रास्वपालाई सत्तामै राखिराख्ने अर्को बाटोसमेत उनलाई छ ।

जसले कांग्रेसको पनि आफ्नो माग पूरा हुनेछ भने सत्ता गठबन्धन पनि फुट्ने छैन । अर्कातर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको घेराबन्दीलेसमेत गठबन्धन फुट्न लागेको त्रास देखाउँदै कमजोर बनाउने फाइदामा उनी हुने छन् भने रवि नै बाटो लागेपछि आफू अनुसार सरकार चलाउने सहजतामा हुनेछन् । त्यस्तै गठबन्धन जोगाउन मेहनत गरेको जससमेत पाउने उनी यही अवस्थालाई प्रयोग गरेर रास्वपामाथि घेराबन्दी गर्ने फाइदामा रहनेछन् । यही कारण भरसक रविलाई बाहिर राखेर सत्ता जोगाउने बाटो नै सबैभन्दा उत्तम हुने बुझेका प्रचण्ड यही गठबन्धन कायम गर्ने बाटोमा छन् ।

जसलाई एमालेको इज्जतसंग जोडेका उनी ओलीकै इसारामा जनता समाजवादी पार्टी (जसपा) फुटाउन नै तयार भए । त्यस्तै हिरो हुन खोजे रास्वपाको पनि यही हालत हुन सक्ने भन्दै घुमाउरो पारामा ओली प्रचण्डले दवाब सिर्जना गरेका छन् । त्यस्तै अर्को छानोमा पुग्ने निश्चित नभई हाम नफाल्ने नेकपा एकीकृत समाजवादीका नेताहरुको भनाइलेसमेत यो गठबन्धन त्यति सजिलै फुट्ने अवस्था छैन । जहाँ प्रचण्डले सत्तामा रहन के–के गर्न सकिन्छ ? सार्वजनिक रुपमै बताइसकेका छन् ।

यसले रविको हार हुँदा सत्तागठबन्धन फुटाउने बाटोमा रहेको कांग्रेस पनि जिल्लिने छ । सहकारीभन्दा सत्ता मुख्य उद्देश्य राखेको उसैका कारण नयाँलाई बोकेर हुन्छ कि ठोकेर हुन्छ डामेरै छाड्ने पुराना दलको सपना भने पूरा हुनेछ । त्यस्तै रास्वपाले रविको सबै दोषको भार बोक्न नसक्ने उनकै नेताहरुको बोलीलेसमेत कोही छानविनमा पर्दैमा सत्ताबाट पछि हट्न नसक्ने संकेत गरिसकेका छन् । अर्कातर्फ रविबाहेक अरु कुनै गृहमन्त्री बन्न लायक मान्छे नै उनको पार्टीमा छैन त भन्ने प्रश्नसमेत उठ्दा उनी दुधमा परेको झिङ्गा जसरी फ्याकिने सम्भावनासमेत छ ।

यद्यपि यसले पार्टीमै विकल्प तयार हुने खतराले आफू पदच्यूत हुने र पार्टी सत्तामा रहिरहने अवस्था रविले हुन नदिने विश्वासमा कांग्रेस देखिन्छ । यही कारण ओलीले रवि बोक्ने र प्रचण्ड छानविन समितिका लागि तयार हुने जस्तो गर्दा दुबैले रविमाथिको प्रहार अझ बढ्दा नै फाइदा हुने बुझिसकेका छन् । जहा किनाराकृत हुने डरले प्रचण्डले समीकरण छोडिहाल्न नसक्ने आशामा ओली भएपनि यो गठबन्धन परिवर्तन भए चाहिने प्लान बीको तयारी उनले गरिसकेका छन् ।

मुख्य कुरा त विचार र सिद्धान्तले भन्दा सत्ताले समीकरण बन्ने गरेको अवस्थाले सबै दल एक अर्कामा विश्वस्त छैनन् । फलतः प्रचण्ड तलमाथि भए ठूला दल मिल्ने भन्दै देउवालाई प्रधानमन्त्री दिए कांग्रेस मिल्न आउने विश्वास एमालेमा हुन सक्छ । त्यही डरका कारण प्रचण्डलेसमेत दोहोरो रणनीति अघि सार्दा कांग्रेस र एमाले पनि यसैलाई बोक्ने भन्ने लाहाछाप गरिसकेका छैनन् । घटनाक्रमले जस्तो परिस्थिति बन्छ त्यही अनुसारको उनीहरुको तयारीलेसमेत मारमा भने रवि नै परिररहेका छन् । जुन छानविनमा पर्ने अर्थात रविको हार, अनि उनले सत्ता नछोड्दा समीकरण पनि नभत्किने अर्थात कांग्रेसको हारतर्फ नै उन्मुख नहोला भन्न सकिँदैन ।।