Breaking

प्रचण्डविरुद्ध देउवा–ओली एक हुन सकेनन्, कांग्रेसको निष्कर्ष : ओली संविधान विरोधी, शेखर फेल


काठमाडौँ – २०७९ सालको आमनिर्र्वाचनपछि पहिलो र दोस्रो दलले नै सरकार बनाउन नसकेपछि आएको बहस हो–स्थिरताका लागि कांग्रेस–एमाले एकता । तर स्थिरताभन्दा बढी सत्ताकै वरिपरि घुम्ने र वर्गसत्रुलाई पनि सत्तारोहण गर्न मित्र बनाउने प्रवृत्तिले यो सम्भावना तत्कालका लागि समाप्त भएको छ ।

तेस्रो सिटको माओवादीले एमाले र कांग्रेसलाई फनफनी घुमाइरहेको अवस्थामा स्थिरताका लागि कांग्रेस र एमाले मिल्नुपर्ने आवाज पुरानो हो । कांग्रेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध बिग्रिन लागेका बेला सौहार्दपूर्ण रहेको कांग्रेस–एमालेको सम्बन्ध अहिले त्यति सहज अवस्थामा छैन । केपी शर्मा ओलीले शेरबहादुर देउवालाई संसदबाटै मिल्ने प्रस्ताव गरेपछि झस्किएका प्रचण्डले प्रधानमन्त्रीबाट हटाइए जनता कहाँ जाने घोषणा पनि संसदबाटै गरिसकेका थिए । तर त्यसबेला देखिएको कांग्रेस–एमाले मिलनको सम्भावना अहिले भने कमजोर बन्दै गइरहेको छ । शेखर कोइराला लगायतका नेताहरुले ओलीलाई भेटेरै पहिलो कार्यकाल प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि ओलीले प्रस्ताव स्वीकार गरेनन् बरु प्रचण्ड नेतृत्वकै सरकार जोगाउन जसपामा फुट ल्याए । यसले कांग्रेस–एमाले मिलनको सम्भावना तत्कालका लागि सकिएको संकेत गर्छ । कांग्रेस पनि अहिले एमालेसँग मिल्नेबारे कुुनै छलफल नभएको दाबी गरिरहेको छ ।

के कारण छन् जसले एमाले–कांग्रेसको दूरी बढायो ?
कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको अफर गरे पनि आफू प्रधानमन्त्री बनिहाल्नेमा ढुक्क छैनन् । किनभने अहिले प्रयोग भइरहेको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डको सरकार ढल्ने बित्तिकै ठूलो दलको हैसियतमा शेरबहादुुर देउवा प्रधानमन्त्री बन्ने छन् । ओली प्रधानमन्त्री बन्नका लागि प्रचण्डले राजीनामा दिनुुपर्नेछ । जुन सम्भव छैन । आफू प्रधानमन्त्री बन्न संवैधानिक जटिलता बुझेका ओलीले कांग्रेसको प्रस्ताव स्वीकार गरेनन् । अहिले प्रचण्ड बोकिरहेका ओलीलाई कांग्रेस बोक्न मात्रै जानुले फाइदा हुँदैन ।

कांग्रेस एमालेको दूरी बढेको अर्को घटना हो । सभामुखसँग शीर्ष नेताहरुको मंगलबारको छलफलमा ओली र देउवाको नोकझोँक । रवि लामिछानेबारे संसदीय छानविन समिति माग गरिरहेको कांग्रेसको बोली ओलीले रोक्न खोज्दा देउवा झोंक्किएका थिए । रविभन्दा बढी उनको बचाउमा ओली उभिए पछि देउवाले ‘तपाईं को हो ? हाम्रो आवाज रोक्न खोज्ने ?’ भन्दै थर्काउन खोजेका थिए । यसबाहेक कोशी र गण्डकीमा एमालेले असंवैधानिक गतिविधि गरिरहेकोमा समेत कांग्रेस झस्किएको छ । कोशीमा एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई असफल पारिनु र गण्डकीको मुुख्यमन्त्री नियुक्तिमा पटक–पटक असंवैधानिक कदम एमालेले चालेको कांग्रेसलाई मन परेको छैन । यसबाहेक जसपा फुटाउन निर्वाचन आयोगलगायत राज्यका सम्पूर्ण निकाय र शक्ति परिचालन गरेकोमासमेत कांग्रेसले एमालेको लय ठिक नभएको विश्लेषण गरेको छ ।

पछिल्लो समय निर्वाचन प्रणाली र धर्म निरपेक्षता लगायतका कैयन विषयमा संविधान संशोधन र अस्थिरतामा ब्रेक लगाउन कांग्रेस–एमाले मिल्नुको विकल्प नरहेका तर्क कांग्रेसले सार्वजनिक मञ्चमै गर्दै आएको छ । यही मुद्दालाई लिएर एमाले महासचिव शंकर पोखरेल, विष्णु रिमाललगायत र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेतका नेताहरू संवादमै छन् । पछिल्ला राजनीतिक घटनाक्रमहरुले भने समीकरणमा अविश्वास ल्याउने र प्रचण्डलाई थर्कमान बनाउन मात्रै कांग्रेसले तत्काल मिल्ने प्रचार गरेको देखिन्छ । यी सबै घटनाक्रमले तत्काल ओलीभन्दा पनि प्रचण्डसँगै मिल्दा उपयुक्त हुने देउवाको निष्कर्षले तत्कालका लागि कांग्रेस–एमाले सहकार्यको सम्भावना समाप्त भएको छ ।