Breaking

ओलीको जहाजमा सुहाङको उडान, अवसरको भकारीमा कम छैनन् चुनौती, कस्तो होला माननीय यात्रा ? (भिडियोसहित)


काठमाडौँ— इलाम–२ मा कांग्रेसका डम्बर खड्कालाई पाँच हजारको फराकिलो मतान्तरले पराजित गरेर सांसद बनेका सुहाङ नेम्वाङले संसदको औपचारिक यात्रा सुरु गरेका छन् । उनका बुबा सुवास नेम्वाङको विरासतको राजनीति र एमालेले युवापुस्तालाई मौका दिएको भन्दै प्रचार गरिरहेको बेला सुहाङमाथि भने अवसर र चुनौती दुवै उत्तिकै छन् ।
न राजनीतिक योगदान, न कुनै संगठनमै सक्रिय, बुबाको विरासतले टिकट पाएर सांसद बनेका सुहाङ नेम्वाङ । आफ्ना प्रतिद्वन्द्वी डम्बर खड्काभन्दा बढी कांग्रेसको गगन थापा र विश्वप्रकाश शर्मालाई जितेको माहोलमा सांसद बनेका सुहाङले शपथ लिएसँगै आधिकारिक रुपमा संसदको रोष्ट्रममा पुग्ने बाटो पाएका छन् । खासै चुनौतीको सामना नगरी शान्त चुनावी क्याम्पियनबाट जित हात पारेका सुुहाङसँग अवसर र चुनौती दुवै छन् । इलाम २ को उपनिर्वाचनलाई ३० वर्षदेखिको विरासत कायम राख्न र मिसन ०८४ सुहाङकै कारण सफल भएको निष्कर्षमा पुगेको एमालेले अहिले सुहाङलाइ ब्रान्डिङ नै गरिरहेको छ । यतिसम्म कि सुहाङले लगाउने भादगाउले टोपीसमेत नेताहरुलाई बाँड्न थालिएको छ । यसबाहेक एमालेले युवा पुस्तालाई अघि बढाउँदै लगेको सन्देश पनि एमालेले सुहाङमार्फत नै दिइरहेका बेला नेतृत्वको मन जित्दै संसदमा दरिलो उपस्थिति देखाएर सुुरक्षित राजनीतिक उडानको अवसर सुहाङलाई छ । उनले आफू सांसद रहँदा तीन विषयलाई महत्वमा राख्ने बताएका छन् ।

बुबाको सपना पूरा गर्ने भन्दै राजनीतिमा आएका सुहाङका लागि सबैभन्दा ठूलो चुनौती नै बुबा सुवासचन्द्र नेम्वाङका सपना पूरा गर्नु हो । तीन दशकसम्म राजनीतिको मुलधारमा रहेर सुवास संविधान सभाको अध्यक्ष तथा एमाले उपाध्यक्ष र निधनपूर्व राष्ट्रपतिको उम्मेदवारसम्मको मौका पाएका थिए । तर उनले निर्वाचन हार्नुप¥यो । इलामले नेम्वाङलाई यत्तिका अवसर दिँदा देशलाई संविधान दिलाउन महत्वपूर्ण भूमिका खेले । इलामका दुर्गम गाउँमा अहिले पनि सञ्चार सुविधा सहज रुपमा पुग्न सकेको छैन । पहाडी जिल्ला इलामका जनताले सहज यातायात सेवा पाउन सकेका छैनन् । इलामको विकासका लागि कृषि र पर्यटन महत्वपूर्ण क्षेत्रका रुपमा रहे पनि त्यसलाई माथि उठाउँदै प्रचुर सम्भावनाको फाइदा लिन सक्ने बाटोमा सुवासले पर्याप्त भूमिका खेल्न सकेनन् । जो अब सुहाङको काँधमा आइपुगेको छ । यसबाहेक पुराना दलहरुप्रति वितृष्णा बढिरहेका बेला एमालेले सुहाङलाई देखाएर पार्टीले युवाहरुलाई पनि अघि सार्ने सन्देश दिइरहेका छन् । अब समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारीमा युवाको आकर्षण घटाउन सुहाङका लागि अवसर र चुनौती दुबै छ । त्यसमाथि इलाममा एमालेको विरासत जोगाइ राख्न पनि उनका लागि चुनौती नै हुनेछ । निर्वाचनमा अहिले सबै असन्तुष्टिहरुलाई पन्छाउँदै केन्द्रले टिकट दिए पनि जिल्ला तहमै वर्षौंदेखि पार्टीको राजनीतिमा सक्रिय नेताहरुका आवाज सुन्न, त्यसै अनुसार अघि बढ्न सक्नु पनि उनका लागि ठूलो चुनौती हुनेछ । यसबाहेक संसदमा उनको प्रस्तुति तथा कानुन निर्माणमा उनको सहभागितासमेत मूल्यांकनको मनक बन्नेछ । सुहाङले भनेजस्तो नीतिकै कारण इलामको विकास रोकिएको भाष्य सही होइन । र, दलीय राजनीतिमा उनले चाहेर मात्रै पनि कानुन बनाउने वा परिमार्जन गर्न सकिने अवस्था पनि होइन । सत्तास्वार्थको सिकार संसद बन्दा एकातर्फ युवा सांसद हुँदाको आशा जगाउनुपर्ने, अर्कोतर्फ पार्टी अध्यक्षको आशीर्वादमा रहिरहन पनि समस्या हुने भएकाले यो चुनौती पनि सुुहाङमा छ ।

सांसद बने लगत्तै सुहाङ मन्त्री बन्नेसम्मका चर्चा चले । ओलीको निकट मानिने महेश बर्तौला, सुनिता बराल लगायतले ओलीको पार्टी र संसदमा महत्वपूर्ण जिम्मेवारी पाउँदा सुहाङले पनि त्यो फाइदा उठाउन सक्छन् । तर त्यसका लागि ओलीको विश्वासपात्र भइरहनु पर्नेछ । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उनकी पत्नी विद्या भट्टराईलाई राजनीतिमा ल्याउँदा पनि सुहाङजस्तै चर्चा थियो । त्यतिबेला उनलाई राजनीतिमा शक्तिशाली महिलाको उदयका रुपमा लिइँदा अहिले ओझेलमा रहेकाले सुहाङ पनि त्यही बाटोमा नजालान् भन्न सकिँदैन । चुनाव जित्ने बित्तिकै पहिचानवादीहरुलाई जवाफ दिँदै हिँडेका सुहाङ गृहजिल्ला जाँदा आफैँ तारो नबन्लान् भन्न सकिँदैन । सुहाङको कार्यकाल करिब ३ वर्ष मात्रै हो । यस अवधिमा उनले सांसदसँगै जिल्ला तहका नेताहरुको व्यवस्थापन र भावी राजनीतिका लागि आगामी महाधिवेशनको तयारी, पार्टीमा थप जिम्मेवारी लिँदै ०८४ मा टिकट सुुरक्षित गर्नु पनि उनका लागि चुनौती हुनेछ । आगामी बजेट अधिवेशनसँगै संसद प्रवेशको तयारीमा रहेका सुहाङ नेम्वाङले आफ्नो राजनीतिक गोरोटो कसरी तय गर्छन् त्यो भने आगामी दिनहरुले पक्कै पनि निर्धारण गर्ने नै छ । अहिलेलाई भने उनलाई सुखद कार्यकालको शुभकामना ।।