Breaking

रवि–राजेन्द्रदेखि उपेन्द्र–माधव हैसियतबिनै प्रधानमन्त्रीको सपना, प्रचण्डपछि ओली कि देउवा ? (भिडियोसहित)


काठमाडौँ— ठूला दल कांग्रेस र एमालेलाई सत्ताको भ¥याङ बनाउँदै तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता लम्ब्याउने खेलमा छन् । दलहरूको सत्ता खिचातानी सतहमै देखिएको छ । सत्ता टिकाउनका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ दल जसपा नै विभाजित गरिदिए । नयाँ–पुराना, ठूला–साना सबै दलका नेताहरूको ध्यान कसरी प्रधानमन्त्री बन्ने र टिक्ने भन्नेमै केन्द्रित छ ।

व्यवस्था परिवर्तनको हिमायती ठान्नेदेखि लोकतन्त्रको मसिया हुँ भन्ने पुराना दलहरू कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो अवस्थामा छन् । देशमा विकास, परिवर्तन र सुशासनको खडेरी लागिरहेको बेला दलका शीर्ष नेताहरू कसरी प्रधानमन्त्री बन्ने भने दाउमा बिरालोले मुसा ढुके झैँ प्रधानमन्त्रीको कुर्सी ढुकिरहेका छन् । हुन त जनमतको सम्मान गर्ने हो भने देशको बागडोर सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सम्हालिरहेको हुनुपर्ने हो । तर, त्रिशंकु संसदमा कुनै पनि दलको बहुमत छैन । साना दललाई विश्वासमा नलिइ सरकार बनाउन र टिकाउन सक्ने अवस्था छैन । त्यसैले ठूला दल कांग्रेस र एमालेलाई आलोपातो सत्ताको भ¥याङ बनाउँदै ३२ सिटे माओवादीले देशको नेतृत्व गरिरहेको छ । सरकार गठनको सुरूवाती चरणमै आफू प्रधानमन्त्री भन्ने दाउ कुरिरहेका कांग्रेसका सभापति शेरबहादुर देउवा पटक÷पटक आफ्नो लक्ष्यबाट असफल भइरहेका छन् । नेपाली राजनीतिका चतुर खेलाडी एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री भन्ने बाटोमा कांग्रेस तगारो बनेको छ । प्रधानमन्त्रीको दाउ हान्दा सत्ता गुम्ने हो कि भन्ने चिन्ता ओलीलाई छ । त्यहीकारण आफुलाई प्रधानमन्त्री बन्ने इच्छा नै नभएको खोक्रो भाषण उनी छाँटिरहेका छन् ।

सत्ताबाट बाहिरिनु परेपछि छटपटीमा रहेको कांग्रेस न्वारनदेखिको बल लगाएर यो सरकार भत्काउन अनेक दाउ लगाइरहेको छ । देशको बागडोर सम्हालिरहेको प्रचण्डलाई सत्ताबाट ओराल्न प्रचण्डकै सत्तासहयात्री दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्रीको अफरसमेत ग¥यो । गत निर्वाचनबाट राष्ट्रिय दलसमेत बन्न नसकेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनिहालिन्छ कि भन्ने आशा अझै छ । त्यसतर्फ चलखेल पनि भइरहेको छ ।
कांग्रेसभित्र आफ्नो हैसियत बिर्सेर शेखर कोइरालाले पनि प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् । त्यसैले उनले एमाले अध्यक्ष केपी ओलीसँग हिमचिम बढाइरहेका छन् । रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि मौका कुरेर बसिरहेका छन् । कांग्रेस संस्थापन पक्षले अहिलेको गठबन्धन भत्काउन सहकारी प्रकरण र माधव नेपाललाई अस्त्रको रूपमा प्रयोग गरेको छ । तर, एमाले अध्यक्ष ओलीको जोडबलमा जसपा विभाजित भएपछि वैकल्पिक गठबन्धनको प्रयासमा धक्का लागेको छ । शिक्षक हुँदै मधेसको मुद्दा बोकेर उदाएका उपेन्द्र यादव पार्टी विभाजनसँगै संकटमा छन् । माधव र उपेन्द्रलाई प्रयोग गरेर कांग्रेसले अहिलेको सरकार भत्काउन लागेपछि ओली र प्रचण्डले सत्ता जोगाउनका लागि सत्तासहयात्री दललाई नै दुई टुक्रा पारिदिए ।
कांग्रेसको भड्काउमा लाग्दा माधवकुमार नेपाल झनझन कमजोर हुँदै गएका छन् । पार्टीभित्र समेत उनी अल्पमतमा परेका छन् । जनादेश बिर्सिएर सत्ता केन्द्रित भएका उपेन्द्र हाल गहिरो चोटमा छन् । देशमा सबैतिर बेथिति, भ्रष्टाचार र अनियमिता झांगिएका बेला दलका नेताहरूको ध्यान भने प्रधानमन्त्रीको कुर्सी हत्याउन केन्द्रित छ । देश र जनताको सवाल दलहरूको प्राथमिकतामा पर्न सकेको छैन । नयाँदेखि पुराना र व्यवस्था विरोधीदेखि व्यवस्थाको बचाउ गर्नेहरू समेत प्रधानमन्त्रीको होडमा लाग्दा जनतामा भने निराशा बढ्दो छ ।