Breaking

ओलीको जालमा नमज्जाले फसे उपेन्द्र र माधव, देउवा पनि घाइते, अझै सुरक्षित छैनन् प्रचण्ड


सत्ता टिकाउन जनता समाजवादी पार्टीमा विभाजन ल्याइएसँगै वैकल्पिक गठबन्धनको प्रयासमा ब्रेक लागेको छ । एकीकृत समाजवादी र जनता समाजवादी मिलेर कांग्रेसलाई सहयोग गर्न लागेको सुइँको पाएपछि जसपामा विभाजन ल्याइएको हो । योसँगै माधव बिना पनि प्रचण्ड सरकार सुरक्षित हुने समीकरण बनेको छ भने कांग्रेसको सपना सपनामै सीमित बनेको छ ।

जनता समाजवादी पार्टीको विभाजनसँगै प्रधानमन्त्री बन्ने माधव नेपालको सपना र सत्तामा फर्किने कांग्रेसको छिर्के दाउमा ब्रेक लागेको छ । आफ्नो प्रधानमन्त्री पद जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै सरकारका उपप्रधानमन्त्रीको दल फुटाए पछि प्रचण्ड त सुरक्षित भएका छन् । तर साना दल कसरी सुरक्षित हुन्छन् र कांग्रेसको आगामी रणनीति के हुन्छ ? भन्नेमा सबैको चासो बढेको छ । तत्कालका लागि माधव नेपालको प्रधानमन्त्री बन्ने र कांग्रेसको सत्तारोहणको बाटो बन्द भएको छ । योसँगै सत्ता ढल्ने प्रचण्डको एक खड्को टरे पनि उनका विश्वासपात्र मानिने उपेन्द्र यादवकै पार्टी प्रचण्डले फुटाउनु, बहुमत पक्षधर पनि मधेश क्षेत्रकै हुनुले अर्को शंका जन्माएको छ । जसपा फुटपछि माधव नेपालको बार्गेनिङ पावर सकिएको मात्रै छैन कि उनको प्रधानमन्त्री सपना पनि सपनामै सीमित बनेको छ ।

अहिलेको गठबन्धनमा नाक खुम्च्याएरै देउवाबाट प्रधानमन्त्री पाउने माधवको यो रणनीतिक योजना असफल भएसँगै माधवको किचिकिच सुन्नुपर्ने प्रचण्डको बाध्यता पनि अन्त्य भएको छ । अब माधव नभए पनि प्रचण्डको सरकार सुरक्षित हुनेछ । टोपबहादुर रायमाझी निलम्बित भएको अवस्थामा एमालेसँग ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ सहित १३८ जनाको बहुमत पुग्नेछ । नागरिक उन्मक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना जोड्दा संसदको अंकगणित प्रचण्डको पक्षमा १४० पुग्नेछ ।

उपेन्द्रको राजनीतिक जीवनमा सायद यति ठूलो राजनीतिक संकट पहिलो पटक आएको हुनुपर्छ । मधेशवादी दलहरुको टुटफुटको श्रृंखला नेपाल सद्भावना पार्टीबाटै भएको हो । सद्भावना पार्टी विभिन्न कालखण्डमा विभिन्न टुक्रामा विभाजन भयो । २०६२÷०६३ को जनआन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले मधेश केन्द्रित विभिन्न दलहरुको जन्म भयो । मधेशी जनअधिकार फोरम हुँदै विभिन्न मधेश केन्द्रित दलको स्थापना र विभाजनको श्रृंखला चलिनै रहेको छ । गत आमनिर्वाचनमा मधेशमा उदाएको जनमत पार्टीका सीके राउतसँग पराजित भएका उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद छिरेका हुन् ।


प्रदीप यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई लगायत नेताहरु नै पार्टी विभाजनमा सक्रिय हुनुलेसमेत उनलाई थप बिछिप्त बनाउने पक्का छ । अमेरिका भ्रमणमा रहेका उनी मंगलबार बिहान काठमाडौं ओर्लिने कार्यक्रम छ । नेपाल फर्किए लगत्तै नेताहरुलाई फकाउन उनको प्रयास जारी रहनेछ । पार्टी फुटाउने पक्षले भने उपेन्द्रले सत्ता समीकरण फेर्ने प्रयास गरेकाले आफूहरुले स्थिरताको पक्ष लिएको स्पष्ट पारेको छ ।

प्रचण्डको सत्ता ढाल्न ८ र २८ दिनको भाका राखेर अघि बढेको कांग्रेसलाई भने जसपा विभाजनले क्षति पुगेको छ । किनभने साना दलहरुलाई प्रयोग गरेर प्रचण्डको सरकार ढाल्न अब शेरबहादुर देउवालाई हम्मे पर्नेछ । तर पनि कांग्रेस विकल्पबिहीन भने छैन । वैकल्पिक गठबन्धनको प्रयास असफल भए पनि एमालेसँग मिलेर सरकार बनाउने विकल्प कांग्रेससँग अझै छ । कांग्रेस–एमाले मिलेर संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने मत कांग्रेसभित्र बलियो रहेका बेला यसैलाई एजेण्डा बनाउने सम्भावना छ । कांग्रेसको एक तप्काले साना दलहरुलाई कमजोर बनाउन ओलीले जसपा फुुटाए पनि आफूहरुसँग पनि संवादमै रहेको दाबी गर्छ ।

यसबाहेक कांग्रेसलाई प्रचण्ड सरकार ढाल्ने अर्को अस्त्र पनि बाँकी नै छ । बैशाख २८ गतेदेखि सुरु हुने संघीय संसदको बर्खे अधिवेशन चल्न दिने अवस्थामा कांग्रेस पुगेको छैन । सहकारी प्रकरणमा रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउन सके नैतिकताको प्रश्न उठाएर सत्ताबाट बाहिर पु¥याउने र अर्को सरकार बनाउने सुरुवात गर्ने कांग्रेसको दाउ पनि बाँकी नै छ ।