Breaking

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण वा सङ्कुचन हुन दिइनेछैन्: प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उनले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए ।

महासंघले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अङ्ग बनेको बताउँदै प्रधानमन्त्री दाहालले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट पारे ।