Breaking

सुहाङले मिलाए ओली–प्रचण्ड, माधवलाई ओलीको अर्को च्यालेन्ज, कम्युनिस्ट मिल्ने डरमा कांग्रेस


काठमाडौँ – इलाम र बझाङ उपनिर्वाचनले फेरि वाम एकताको बहसलाई सतहमा ल्याइदिएको छ । यसको पक्षमा माओवादी बढी उत्साही देखिँदा एमाले भने तत्काल सम्भव नरहेको बताइरहेको छ । के उपनिर्वाचनले वाम ध्रुवीकरणको सन्देश दिएको हो ?

इलाम र बझाङ उपनिर्वाचनमा एमालेको एकछत्र सफलताले फेरि वाम ध्रवीकरणको आधार तय भएको रुपमा कतिपय नेताहरुले बुझेका छन् । इलाममा माओवादीको समर्थनले एमालेका सुहाङ नेम्वाङ जित्न सक्षम भएको र वामपन्थी जनमत राम्रै भएको तथ्यले बामपन्थी एकताको आधार तयार भएको बुझाइमा माओवादी देखिन्छ । तर एक्लै चुनाव लड्दा मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस मात्रै भएको पुष्टि पनि उपनिर्वाचनले गरेको छ । माओवादी जुन दलसँग मिल्यो त्यही दल शक्तिशाली बन्ने अवस्था तर एमाले र कांग्रेस एक्लै चुनाव लड्ने मनस्थितिमा रहेका बेला माओवादी एक्लिए कमजोर बन्ने देखिन्छ । यस्तो अवस्थामा माओवादीमा बझाङको जनमतले संगठन निर्माणमा लाग्नुपर्ने भएकाले आफ्नै खुट्टामा उभिनपर्ने सन्देश दिएको बुझ्ने एक पक्ष छ भने अर्को पक्षले वाम शक्ति ध्रविकृत भए बहुमत निश्चित रहेको बुझाइमा पुगेको छ । माओवादीको माथिल्लो तप्का एमाले–माओवादी मिल्ने र राजनीतिक कोर्स करेक्सन गर्दै सहयात्रामै मिसन ०८४ चलाउनुपर्ने पक्षमा रहँदा दोस्रो पुस्ता भने पूर्वमाओवादी घटक मलिनको बाटो खोजिरहेको छ ।

केही दिन अघिमात्रै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । प्रचण्ड र विप्लवबीच छिट्टै पार्टी एकताको तयारी चलिरहेको चर्चा पनि छ भने यसको संकेत सार्वजनिक मञ्चमा समेत देखिने गरेको छ । सम्भवतः विप्लव पनि हसिया हथौडा चुनाव चिन्हबाटै निर्वाचनमा होमिने चर्चाका बिच यसैलाई बलियो बनाउँदै लैजानुपर्नेमा कतिपय नेताहरु छन् । तर, बाबुराम भट्टराई भने प्रचण्डलाई निर्वाचन क्षेत्र छाडेकामै पश्चताप गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेकपा सरकारमा सुरुवात गरेका काम पूरा गर्न वामपन्थीहरूको सरकार बन्नु पर्ने आवश्यकता औंल्याएका थिए । तर यसमा ओलीको मिल्नेभन्दा निल्ने सिद्धान्तले बढी काम गरेको देखिन्छ ।

इलाममा असहज भएपछि माओवादीको साथ खोजेका ओलीले बझाङमा माओवादीलाई साथ नदिँदा प्रचण्डलाई पन्छाउने र माध नेपालको पार्टीसँग एकता गर्ने भन्दा उसका कार्यकर्ता तानेर रित्तो बनाउने रणनीतिले यसको संकेत गर्छ । २०७४ मा एमाले र माओवादी मिलेपछि बाम गठबन्धनको दुईतिहाइकै बहुमतमा सरकार बने पनि धेरै समय टिक्न सकेन । अहिले पनि प्रचण्डको उथलपुथलपूर्ण राजनीतिमा एमालेले एकतासम्मै विश्वास गरिहाल्ने अवस्थामा पनि छैन । अहिलेको सत्ता समीकरणलाई बलियो बनाउँदै आगामी चुनावमा सहकार्य सम्मको सम्भावनालाई नकार्न सकेको देखिदैन । तर उपनिर्वाचनको नतिजाले एमालेको एक्लै लड्ने आत्मवल बढाएको रुपमा नेताहरुले बुझेका छन् ।

सुदूरपश्चिममा वामपन्थी विवादको अर्को अध्याय सुरु भएको छ । उपनिर्वाचनमा एकीकृत समाजवादीले सहमति विपरीत एमालेलाई हराउन उद्दत भएकाले सरकारबार सोच्नुपर्ने अबस्थामा पुगेको प्रतिक्रिया एमालेले दिएको छ । समाजवादीका मुख्यमन्त्री दीर्घ सोडारीले पाउने विश्वासको मत पनि अनिश्चित बनेको छ । यसले पनि समाजवादीसँग मिल्ने भन्दा निल्ने रणनीतिका रुपमा लिन सकिन्छ । यसले केन्द्रीय सत्ता समीकरणमा पनि प्रभाव पार्ने र यही समीकरणका आधारमा एकताको जग निर्धारण गर्ने एमालेको प्रयास सुरुमै फेल खानेछ । त्यसमाथि वामपन्थी ध्रुवीकरण हुन नसक्दा चुनावमा माओवादी कांग्रेससँग मिल्ने अवस्था आए एमालेको एक्लै जित्ने आत्मबलमा धक्का पुग्नेछ । त्यसैले पनि वाम ध्रुवीकरणका लागि अन्र्तराष्ट्रिय शक्ति, कांग्रेसको भूमिका र ०८४ को माहोल लगायतले प्रभाव पार्न सक्नेछ । अहिले वामपन्थी एकताका लागि माओवादी बढी उत्साही देखिए पनि एमाले भने सचेत देखिन्छ ।