Breaking

रोजगारी दिने सरकार हरायो, जहिले सपना मात्रै, महंगीमा पनि श्रमिकले पाउँदैनन् न्यूनतम ज्याला


काठमाडौँ – आज मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस । नेपालसँगै विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । बर्सेनि ठूलाठूला कार्यक्रम गरी मजदुर दिवस मनाइरहँदा वास्तविक मजदुरहरुका हकमा भने मजदुर दिवस ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भएको छ ।

राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थहरुको शुभकामना सन्देश, सार्वजनिक बिदा नै गरेर ‘सबैका लागि सामाजिक न्याय तथा मर्यादित काम’ भन्ने नारासहित धुमधामका साथ १ सय ३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा वास्तविक मजदुरहरु भने यो दिवसबारे बेखबर देखिए । दिनभर मजदुरी गरेर जसोतसो जीविका चलाउँदै आएका संघीय राजधानी काठमाडौंभित्रका यी मजदुरहरु आफ्नो काममा भ्याईनभ्याइ थिए । मजदुर दिवसले मजदुरलाई न पहिले छोएको थियो न त अहिले । सायद कहिल्यै छुने छैन ।

धादिङकी सीता श्रेष्ठले काठमाडौंमा यसरी नै ज्यामि काम गर्न थालेको वर्ष दिन बितेको छ । उनलाई मजदुर दिवसबारे केही थाहा छैन । उनलाई बस यति थाहा छ दिनभरी काम गरे वापत उनले सात सय रुपैयाँ ज्याला पाउँछिन् । उनका श्रीमान रोजगारीका लागि भारतमा छन् । तर भारत गएका श्रीमानको मात्र भर पर्ने कुरा भएन । त्यही भएर अहिले उनले यही काम गरेर दुई छोरा र घरको व्यवहार चलाइरहेकी छन् । काठमाडौंको बसाइँ, बढ्दो महँगीलाई झेल्दै परिवारको व्यवस्थापनमा उनी जुटिरहेकी छन् । यही कमाईबाट उनले छोराहरुलाई पढाई राखेकी छन् । मजदुरी गरेरै जसोतसो आफ्नो घरव्यवहार उनले टार्दै आएकी छन् ।

सीतासँगै काम गर्ने कैलालीका जीतबहादुर चौधरीलाई पनि मजदुर दिवस के हो थाह छैन । मजदुर दिवसबारे थाहा नै भए पनि घरमै बस्ने कुरा भएन । ‘दिनभरी काम गरेर बिहान बेलुका छाक टार्नु पर्ने बाध्यताले काममा त आउनै प¥यो’ उनी सुनाउँछन् ।

बुधबार दिउँसो काठमाडौंको घट्टेकुलो नजिक घर निर्माण क्षेत्रमा पुग्दा खोटाङका एकराज कार्की आफ्नो काममा व्यस्त थिए । उमेरले डाँडा काटी सके पनि बालुवा र सिमेन्टसँग खेल्नु उनको बाध्यता हो । घामपानी केही नभनी दिनभरी खट्दा उनले दिनको एक हजार कमाई गर्छन् । त्यही कमाईले आफ्नो घर–व्यवहार टार्दै आएको उनले बताए । उमेरले ६ दशक नाघे पनि बिहान बेलुका हात मुख जोड्नकै लागि बुढो हडी खियाउनु उनेको दैनिकी हो । उनलाई पनि मजदुर दिवसले छुने कुरै भएन ।

यी त प्रतिनिधि पात्रमा हुन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको संख्या लाखौँ छ । ज्यालादारीमा काम गर्ने मजदुरको पारिश्रमिक कानुन बमोजिम कार्यान्वयन हुन नसक्दा उनीहरु श्रम शोषणमा समेत पर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले मजदुरको दैनिक न्यूनतम पारिश्रमिक १५ सय रुपैयाँ निर्धारण गरेको थियो । तर उक्त व्यवस्था कार्यान्वयन हुन सकेको छैन । राजनीतिक दलका नेताले भने सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

मजदुरले उचित पारिश्रमिकसहित सेवा सुविधा प्राप्त गर्न नसक्नुमा उद्योगीहरु भने श्रमसम्बन्धी विवादलाई मुख्य कारक मान्छन् । तर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धी विवादहरु स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धी भएको दाबी गर्छन् ।

८ घण्टा काम, ८ आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागोमा सन् १९८६ मा मजदुर आन्दोलन भएको भएको थियो । सो आन्दोलनका क्रममा सात जना मजदुरको मृत्यु भएको थियो । अन्ततः आन्दोलनले सफलतासमेत हासिल ग¥यो । आन्दोलनको सम्झनामा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउन सुरु भएको इतिहास छ । नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । मजदुरको हकहितका लागि आवाज उठाउन तथा लड्न थुप्रै संस्थाहरु स्थापना भए । तर अझै पनि वास्तविक मजदुरको माग सम्बोधन हुन सकेको छैन । सरकारले नै ल्याएका कतिपय कानुन तथा नीतिहरु प्रभावकारी ढंगले लागु हुन सकेको छैन । नेपाल सरकारले मजदुरलाई समेत समेट्ने गरी ल्याएको सामाजिक सुरक्षाको प्रत्याभूति त धेरै परको कुरा न्यूनतम पारिश्रमिकसमेत पाउन सकिरहेका छैनन् । शरीर र स्वास्थ्यले सकुञ्जेल श्रम गर्ने उनीहरु अशक्त तथा असाहय भएको अवस्थामा सहाराविहीन बन्ने गरेका छन् । जुन कुरालाई विडम्बना मान्नु पर्ने हुन्छ ।