Breaking

के रवि सकिएकै हुन् ? मिसन–०८४ मा ठूलो धक्का, हल्लाकै भरमा जितिन्न चुनाव


काठमाडौँ – वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा चर्चाको भरमा चल्ने भएकाले गाउँ क्षेत्रमा खासै प्रभाव नभएको सन्देश इलामले दिएको छ । इलाममा रास्वपा ठूला पार्टीको प्रतिस्पर्धी नै बन्न नसक्नुका कारण के हुन् ?

२०७९ सालको आम निर्वाचन तथा गतवर्ष चितवन र तनुहँको उपनिर्वाचनबाट जबरजस्त उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको रापताप इलाम पुग्दा त्यति देखिएन । ‘रापतापका साथ छि¥यो इलाम, फर्किदा घण्टी लिलाम’ भनेझैं उम्मेदवार मिलन लिम्बुको जमानतसमेत जोगिएन । यसबाट पूराना दलहरुको विकल्पले धक्का खाएको छ । मिलन लिम्बुको यो हार उनी स्वयंको मात्रै हार नभई, रास्वपा, रवि लामिछाने, वैकल्पिक राजनीतिको पनि हो ।

यसले रास्वपालाई धेरै पाठ सिकाएको छ । सत्ता देख्ने बित्तिकै तीन नेत्र खुलाउने, पुराना राजनीतिक दलकै पिछा लाग्दा जनताले विकल्पको अनुभूति रास्वपाबाट नपाएको सन्देश दिएको छ । यसबाहेक चर्चा बटुल्ने काम र चर्चामा रहेको पात्रले मात्रै चुनाव नजितिने तथा घण्टी बोक्ने बित्तिकै ढुंगा छोए पनि सुन हुन्छ भन्ने भाष्य गलत भएको सन्देश पनि इलाम–२ ले दिएको छ ।

रास्वपाले इलाममा आफ्नो जरो गाड्न निकै मेहनत गरे पनि सफल हुन सकेन । जित निकाल्न उसले मत सर्वेक्षणदेखि मतदाताको रुचीसमेत बटुल्ने प्रयास ग¥यो । प्रचार प्रसारका लागि यसले सभापति तथा गृहमन्त्री रवि लामिछाने, चारैजना मन्त्री, सांसदहरु खटाउँदा पनि सफल हुन सकेन । खाना खाएको थाल आफैँ सफा गर्नेदेखि, मकै गोड्ने र पुरानो सर्ट लगाएर चुनावी प्रचारमा निस्कदासमेत पार लागेन । बरु यसमा नेताहरुमाथि लागेको सहकारी ठगी लगायतका आरोपहरुको जवाफ जनतालाई दिन नसक्दा पनि रास्वापा कमजोर देखिएको छ ।

यसले अपवाद बाहेक पत्रकार मात्रै नेता बन्न सक्छन् र पपुलिज्मकै भरमा अपवादबाहेक मात्रै चुनाव जित्छन् भन्ने सन्देश दिएको छ । किनभने मिलन पनि पत्रकार पृष्ठभूमिकै हुन् । केही दिनअघि मात्रै रास्वपालाई पुरानै दलको कचिंगलमा डुबेको टिप्पणी गरेका मिलन केही दिनमै रास्वपाबाट उम्मेदवार बन्दा उनी आफैँ कमजोर बने । त्यसबाहेक पत्रकार रहँदा गरेका उग्र पहिचानादी हर्कतलेसमेत मिलनलाई असफल बन्नमा धेरै मद्दत ग¥यो । योसँगै रास्वपाको मिसन–८४ पनि माईपोखरीमै चुर्लुम्म भएको छ । त्यसबाहेक रास्वपा विकल्प नभइ निराशाको मतबाट जन्मिएको तथ्यलाई पनि इलाम–२ ले स्पष्ट पारिदिएको छ ।

त्यसमाथि रास्वपा सहरी क्षेत्रमा मात्रै चर्चामा रहेको पार्टी हो भन्ने पुष्ट्याई पनि इलामको नतिजाले गरेको छ । संगठन बिना सामाजिक सञ्जालबाट काम देखाएर निर्वाचन जित्ने सपना पहाडी जिल्लामा पूरा नहुने विश्लेषणलाई बल पु¥याएको छ । हुन त तनहुँको जितलाई देखाउँदै गाउँमा पनि राम्रो प्रभाव रहेको रास्वपाको दाबी इलामले फेल गराइदिएको छ । रास्वापाले भने तनहुँको जितलाई नै गाउँ छिरेको सन्देशको रुपमा देखाउन खाजे पनि इलामले अस्वीकार गरेको छ । यसले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने रास्वपाको आफ्नै भाष्यलाई खण्डित गरिरहेको छ । त्यसमाथि आन्तरिक प्रतिस्पर्धालाई लत्याउँदै सभापति रवि लामिछानेको छनौटमा मिलन परेकाले उनीमाथि समेत पार्टीमा प्रश्न उठ्न सक्छ ।

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका कार्यकर्ता बटुलेको रास्वपाले स्थानीय नेता कार्यकर्तालाई स्थान दिन नसक्दा पनि रास्वपा चुकेको छ । यी विविध कारणलाई हेर्दा रास्वपाले संगठन निर्माणमा तीव्रता दिनुपर्ने, सत्ता लिप्सा भन्दा बढी जनताको आवाज सुन्नपर्ने, हचुवाको भरमा भन्दा गम्भीर भएर उम्मेदवार छनौट गर्नुपर्ने पाठ इलामले सिकाएको छ । पपुलिजम जनताले स्वीकार्दैनन् र राजनीति चर्चित बन्नकै लागि मात्रै गर्ने होइन भन्ने स्पष्ट सन्देश पनि इलामेली जनताले दिएका छन् । तर, रास्वपाले जिते सचेत मतदाता र अरु दलले जिते भेडा करार गर्ने शैलीले भने जनमतकै खिल्ली उडाएको छ ।