Breaking

परिवर्तन हुन खोज्दै काठमाडौं, मानक बालेन, सानामा उत्साह, ठूलामा नेतृत्वकै छैन वास्ता


काठमाडौँ – नेपाली नागरिकलाई खुसी हुनु खासै ठूलो कारण चाहिँदैन । नेपालीहरु स–साना कुरामा नै रमाइरहेका हुन्छन् । जसको पछिल्लो उदाहरण काठमाडांँमा निर्मित प्रतिक्षालय, भित्तेचित्र जस्ता अति सामान्य संरचनाबाट नै पुष्टि हुन्छ ।

काठमाडौं आफैंमा कोलाहाल, प्रदूषण र जताततै असुन्तुष्टि नै असुन्तुष्टिको सहर पनि हो । नेपालको संघीय राजधानी काठमाडौंमा देशभरका विभिन्न कुना कन्दराबाट आएका मानिसहरुको बसोबास छ । विभिन्न पेशा, व्यवसाय तथा शिक्षा, स्वास्थ्यलगायतका सुविधाका कारण काठमाडौं रोज्नेहरुको संख्या दिनप्रति दिन बढ्दो रुपमा छ । तर, देशकै राजधानी काठमाडौंमा भने जस्तो सेवा, सुविधा उपलब्ध नहुँदा आमसर्वसाधारण त्यतिकै निराश पनि छन् । जसका कारण राज्यले केही गर्न नसकेको भाष्य निमार्ण भएको त वर्षौं भयो । तर यति हुँदाहुँदै पनि पछिल्लो समय साना–साना कुरामा भएको सुधारले धेरैको मुहारमा मुस्कान छाउन थालेको छ । अहिले काठमाडौंको सुन्धारामा बनेको सिसाको प्रतीक्षालयले सबैको ध्यान खिचेको छ ।
२०७२ सालको गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त धरहराको पुनर्निर्माण आयोजना अन्तर्गत बनेका तीन वटा सिसाका प्रतीक्षालयको अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । धरहरा पुनर्निर्माण कार्य समयमै सम्पन्न नहुँदा आलोचना भइरहेको अवस्थामा यी प्रतीक्षालयले भने प्रशंसा कमाइरहेको छ । धरहराको कम्पाउण्डमा सिसै सिसाले निर्माण गरिएका प्रतीक्षालय हेर्दा निकै सुन्दर देखिन्छन् ।

चर्चाकाबीच यी प्रतीक्षालय काठमाडौं महानगरपालिकाले बनाएको भन्दै प्रचारसमेत भइरहेको छ । तर, धरहरा पुनर्निर्माण आयोजनाले बनाएको प्रतीक्षालय निर्माणको श्रेय काठमाडौं महानगरलाई दिइएपनि आयोजनाले भने असन्तुष्टि जनाएको छ । प्रतीक्षालय निर्माणमा महानगरका मेयर बालन शाहको नाम जोडेर प्रशंसा भएपछि आयोजनाले गुनासो गरेको हो । यद्यपि, प्रतीक्षालय निर्माणमा सर्वसाधारणले भने सकारात्मक प्रतिक्रिया दिएका छन् ।

त्यसो त पछिल्लो समय काठमाडौं क्षेत्रभित्र प्रतीक्षालयको चर्चा मात्रै होइन दुई रुपैयाँमा एक कप पानी पिउने सुविधाले समेत चर्चा पाएको छ । अहिले बढेको अत्यधिक गर्मीले खानेपानीको माग बढ्दै गएको छ । बाटोमा हिँड्दा प्यास लागे मिनरल वाटरको बोटल किन्नुको विकल्प छैन । सामान्यतः एकदेखि डेढ लिटरसम्मका मिनरल वाटर बजारमा उपलब्ध छन्, जसको मूल्य २० देखि ५० रुपैयाँसम्म पर्छ । सिंगो बोतलको पानी एकै पटक पिउन गाह्रै हुन्छ ।

बाँकी पानी बोकेर हिँड्न पनि झनै झन्झट हुने नै भयो । यही अवस्थालाई मध्येनजर गर्दै ‘वाटर एटीएम’ को अवधारणा ल्याइएको हो । विकसित देशहरुको तुलानामा प्रविधिमा निकै पछाडि रहेको हाम्रो जस्तो मुलुकमा यो खालको अभ्यास उपयोगी हुँदा को नेपाली खुसी नहोलान् र ? जाजरकोबाट काम विषेशले काठमाडौं आएका शशीराम गौतमले यसरी खुसी व्यक्त गरे ।

त्यति मात्रै होइन काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक पर्खालका भित्तामा कलात्मक चित्र कुदिन थालिएको छ । अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वरस्थित रङ्गशालाको भित्ता, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरू, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर, मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्तालगायतका स्थानमा मौलिक कला र संस्कृति झल्किने आकर्षक चित्र कोरिँदै छ । जसले सहरको सौन्दर्यलाई बढावा दिने छ ।

यसरी भित्तामा कोरिएका कलात्मक चित्र हेर्न काठमाडौंका विभिन्न स्थानबाट सर्वसाधारण आउन थालेका छन् । भित्तामा चित्र बनाउँदा सहर सफा र आर्कषक देखिने उनीहरु बताउँछन् ।

यस्ता स–साना तथा थोरै बजेटमा भएका कामको परिणामबाट पनि नेपाली नागरिकले सन्तुष्टि व्यक्त गरेका छन् । नेपालीलाई खुसी बनाउन ठूला ठूला आयोजनाको काम नै गर्नु पर्दैन भन्ने उदाहरण सुन्धाराको प्रतीक्षालय तथा भित्तामा कोरिएका चित्रहरुबाटै पुष्टि हुन्छ ।

राजनीतिक दलका नेता तथा सत्तामा रहेकाहरुले ठूला सपना देखाउने तर काम गर्न नसक्ने प्रवृत्तिलाई छाडेर नागरिकका लागि सेवा सुविधा प्रदान गर्ने सामान्य नै किन नहुन्, यस्ता मसिनो मसिनो समस्यालाई पहिचान गरी समृद्धिको पहलकदमी लिने हो भने अनावश्यक आलोचनाको सिकार बन्नु पर्दैन । ठूलो आयोजनालाई पनि यसरी नै प्राथमिकतामा राख्ने र प्रभावकारी रुपमा काम गर्ने हो भने देशले विकासमा फड्को मार्न कत्ति पनि समय लाग्दैन थियो कि ?