Breaking

इलाममा आजै गणना सुरु गर्ने तयारी


काठमाडौँ— इलाम २ मा भएको उपनिर्वाचनको मतगणना आज नै सुरु गर्ने तयारी छ । आज अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ ।

त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, प्रजिअ यादवले भने ।

भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।