Breaking

कतारी राजा: आफ्नो पोशाक किन लाएनन् ? चर्चा र विवाद, कुमारीको फोटोदेखि सेनाको सुरक्षासम्म (भिडियोसहित)


काठमाडौँ— कतारी राजा अल थानी दुई दिने राजकीय भ्रमण सक्काएर स्वदेश फर्किएका छन् । मंगलबार दिउँसो काठमाडौं ओर्लिएका राजा अल थानीले २४ घण्टे नेपाल बसाईंमा के के गरे त ?

कतारी अमिर राजा शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने औपचारिक भ्रमण सक्काएर स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका राजा अल थानीलाई बिदाई गरे । थानीको बिदाईंमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए । त्यसक्रममा नेपाली सेनाले सलामी अर्पण गरेका थियो ।
मंगलबार दिउँसो काठमाडौं ओर्लिएका राजा अल थानीको दुई दिने भ्रमणमा करिब २२ घण्टा नेपालमा बिताए । सिंगो अरब मुलुकबाट पहिलो पटक भएको राष्ट्रध्यक्षस्तरको कतारी राजाको नेपाल भ्रमण यादगार बनाउन नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिएर उनको स्वागत गरेको थियो । राजाको सवारी हुने सडक क्षेत्रमा भएका स–साना खल्डाखुल्डीसमेत रातारात टालटुल गरेर टिलिक्क पारिनुका साथै श्रृङगारिएको काठमाडौंले राजा अल थानीको भव्य स्वागत गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनासाथ राष्ट्रपति, प्रधानमन्त्री तहमा स्वागत मिलेको राजा थानीलाई तीनकुने, नयाँबानेश्वर, माइतीघर, सहिदगेट, दरबारमार्ग, बालुवाटार हुँदै राष्ट्रपति कार्यालय शीतल निवाससम्म पुग्दा सर्वसाधारणले सडक किनारमा उभिएर बाजागाजासहित भव्य स्वागत गरेका थिए । कतारी राजालाई आफ्नो मौलिक पोशाकमा हेर्ने सर्वसाधरणको चाहना पूरा नभए पनि सुटबुटमा काठमाडौँ ओर्लिएका राजालाई आमसर्वसाधरणले सडक किनारमा उभिएर स्वागत गरे । मंगलबार विमानस्थल हुँदै सिधै शीतल निवास पुगेका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरे । शिष्टाचार भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसीहित र चासोका विविध विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरे । बुधबार राजा थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच वान टु वान कुटनीतिक भेटवार्ता भएको थियो । साथै राजा अल थानी र प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाल र कतारबीच दुई पक्षीय उच्चस्तरीय कुटनीतिक छलफलसमेत भयो । राजाको भ्रमणमा सर्वाधिक चर्चा र चासोमा रहेको श्रमिकका मुद्दामा सरकारले मुख खोल्न नसके पनि कला संस्कृति, युवा, खेलकुद, शिक्षा लगायतका विभिन्न आठ वटा विषयमा सम्झौता भएको छ ।


६ मन्त्रीसहित फिलिपिन्स, बंगलादेश हुँदै पहिलो पटक नेपाल भ्रमणमा आएका राजा अल थानी ७० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर काठमाडौँ आएका थिए । नेपाल र कतारबीच ४४ वर्ष लामो कुटनीतिक सम्बन्धमा रहँदा कतारका राजा नै नेपाल आएको पहिलो पटक हो । उनको यो भ्रमणमा नेपाली श्रमिकको मुद्दालाई मुख्य एजेन्डाको रुपमा उठान गर्ने सरकारको तयारी भए पनि त्यस विषयमा भने कुनै छलफल तथा नयाँ सम्झौता भएन । कतार र नेपालबीच १९ वर्ष अगाडिको श्रम सम्झौतालाई टेकेर नेपाली श्रमिक रोजगारीका लागि कतार गइरहेका छन् । उक्त श्रम सम्झौताको पुनरावलोकन हुनु पर्ने अवाज उठिरहेको अवस्थामा उक्त विषय नउठ्नु नेपालको कुटनीतिक तयारी कमजोर देखिएको छ । कतारी राजाको भ्रमणबाट नेपालले आशातित फाइदा लिन नसकेको विश्लेषण हुन थालेको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको प्रतिउत्तर भ्रमणको रुपमासमेत यसलाई लिइएको छ । राजा अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आएका हुन् ।